बैतडी: बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवाले फेरी आतंक मच्चाउन थालेको छ। केही महिना निष्क्रिय रहेको चितुवाले आज मेलौली नगरपालिका वडा नं ९ असुरमा एक महिलामाथि आक्रमण गरि घाइते बनाएको छ। बिहान ९ बजेतिर घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला ४० बर्षीया कुन्दादेवी भट्टलाई चितुवाले आक्रमण गरेको हो। चितुवाले भट्टको नाक र बायाँ हातमा चिथोरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइते भट्टको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीमा उपचारमा रहेको छ। चितुवाले फेरी आक्रमण गर्न थालेपछि स्थानीयबासिन्दा त्रसित बनेका छन्। २०७३ भदौमा चितुवाले आक्रमण गरेर दुई बालिकाको ज्यान लिएको थियो।
गएको ६ बर्ष यता तल्लोसोराडमा चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ। नरभक्षी चितुवा मार्नका लागि दुईपटक प्रहरी परिचालन गरेको भएपनि मार्न भने सकिएको छैन्। नरभक्षी चितुवाले फेरी आक्रमण गर्न थालेपछि स्थानीबासीहरु त्रसित मणिलेक माविका शिक्षक अर्जुन कुवरले बताए। यसैबीच तल्लोसोराडमा चितुवाले आक्रमण गर्न थालेपछि स्थानीबासीले नरभक्षी चितुवा मार्न माग गरेका छन्। चितुवाले धेरै कोख रित्याएकाले जसरी पनि नियन्त्रण वा मार्नुपर्ने स्थानीयबासीको माग रहेको मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताए।
उनले भने, 'चितुवाले गएको ६ बर्ष यता आतंक मच्चाउँदै आएको छ। यसलाई नियन्त्रण गर्न ढिलो भइसकेको छ । यसको नियन्त्रण गर्न नसके फेरी मानवीय क्षति गर्न सक्ने सम्भावना छ।'
No comments:
Post a Comment