भारतबाट आउने बिजुली केही सस्तो
२५ साउन, काठमाडौं । नेपालले भारतबाट किन्ने गरेको बिजुली केही सस्तो भएको छ । नेपालले सन् २०११ मा गरेको गल्ती कुलमान घिसिङ नेतृत्वको विद्युत प्राधिकरणले सच्याएपछि भारतबाट किन्ने विद्युत केही सस्तो भएको हो । सन् २०११ मा नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बसेर हरेक वर्ष बैठक बस्ने र बाषिर्क ५.५ प्रतिशतका दरले बिजुलीको मूल्य बढाउने सम्झौता भएको थियो । तर, त्यसयता पावर एक्सचेन्ज कमिटीको बैठक एकचोटि पनि बसेन । विद्युतको मूल्य भने बढ्दै गयो, जसका कारण भारतबाट ल्याइने विद्युतको मूल्य प्रतियुनिट ११ रुपैयाँ नाघेको थियो । कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि पहिलो पटक पावर एक्सचेन्ज कमिटीको बैठक बसेको छ । दिल्लीमा बसेको बैठकले हरेक वर्ष ५.५ प्रतिशतका दरले विद्युतको मूल्य बढ्ने पूर्वसहमतिलाई खारेज गरेको छ ।
अब ५० मेगावाट वा त्यसभन्दा माथि १३२ केभी ट्रान्समिसन लाइनबाट आउने एक युनिट बिजुलीको मूल्य ५.५ भारु पर्नेछ । गत वर्ष मूल्य ५० मेगावाट भन्दा कम १३२ केभी ट्रान्समिसन लाइनबाट आउने एक युनिट विजुलीको मूल्य ५.६२ थियो । यस्तै ३३ केभी ट्रान्समिसन लाइनमा आउने एक युनिट विद्युतको मूल्य भारु ६ र ११ केभीको ६.४५ भारु निर्धारण भएको छ । यसअघि ३३ केभी ट्रान्समिसन लाइनमा आउने एक युनिट विद्युतको मूल्य ६.४२ र १११ केभीको ६.५४ भारु थियो । दिल्लीमा सन् २०१८ मार्चमा अर्को बैठक बस्ने र विद्युतको मूल्य निर्धारण गर्ने सहमति भएको छ । साथै लामो समयदेखि बन्द रहेको ३३ केभीको धनगढी-पालिया प्रशारण लाइन दुई महिनाभित्र सञ्चालनमा ल्याउने सहमति पनि भएको विद्युत प्राधिकरणका अधिकारीहरुले बताएका छन् । बैठकमा नेपालले इनर्जी बैंकिङ र उत्तर प्रदेश र नेपाल जोड्ने १३२ केभीका तीनवटा र ३३ केभीका दुई ट्रान्समिसन लाइन निर्माण गर्ने प्रस्ताव राखेको थियो । यसबारे पावर एक्सचेन्ज कमिटीमा छलफल गर्ने सहमति भएको छ ।
No comments:
Post a Comment