Tuesday, August 8, 2017

ओराही खोलामा पुल नहुँदा कन्तविजोग !



बर्दिया, साउन २४ – दुई दिनअघि आइतबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्ज रहेको मुख्य पर्यटकीय क्षेत्र ठाकुरद्वारा जाने क्रममा भुरीगाउँ हुँदै आम्बासा ठाकुरद्वारा सडकखण्ड अन्तर्गत पर्ने ओराही खोलामा दुई वटा ट्याक्टर डुब्यो ।  ठाकुरबाबा नगरपालिकाको भुरीगाउँबाट झण्डै दुई लाख रुपैयाँ बराबर पर्ने पसलको सामान लिएर बकुवा बजार जाँदै गरेको गगन सुनारको भे १ त ६७०७ र नारायण सापकोटाको भे १ त ७०१७ नम्बरको ट्याक्टर ओराही खोलमा डुबेको हो ।  खोलामा ट्याक्टर डुबेको तस्बिर राख्दै बर्दियाका तीन जना मन्त्रिले यसपटक पहिलो प्राथमिकतामा राखी पुल बनाउनुपर्ने भन्दै गरेको आग्रह अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । एकसाता अघि ओराही खोला तर्ने क्रममा भुरीगाउँ, ठाकुरद्वारा र शिवपुरका तीन वटा मोटसाइकल पनि डुबेका थिए ।  ठाकुरद्वाराबाट भुरीगाउँतर्फ र भुरीगाउँबाट ठाकुरद्वारातर्फ जाने क्रममा ओराही खोला सामान्य वर्षा हुँदा पनि बाढी आउँछ र ओहोरदोहोर गर्नेहरु घण्टौँसम्म वारिको वारि र पारिको पारि बस्नु पर्ने बाध्यता वर्षेनी हुन्छ । हिउँदमा वर्षा हुँदा र वर्षा याममा दिनहुँजसो ओराही खोलामा बाढी आएका कारण विद्यालय जाने शिक्षकहरु र विद्यार्थीहरु पनि समयमै विद्यालय पुग्न नसक्ने र समयमै घर फर्कन नसक्ने समस्या पनि वर्षेनी उस्तै हुन्छ ।  आम्बासा, भुड्कैया र गोदाना गरी तिन ठाउँबाट ओराही खोला तरेर ओहोरदोहोर गर्न सकिन्छ तर बाढीका कारण कुनै पनि ठाउँबाट खोला तर्न सकिँदैन । ‘यसरी समस्या भोग्दै आएको वर्षौँ भयो, तर खोलामा पुल बनाउने तर्फ सरकारको ध्यान पुगेको छैन’ स्थानीय बासिन्दा दिपेन्द्र बुढाले भन्नुभयो । बर्दिया राष्ट्रिय निकुञ्ज रहेको बर्दियाको मुख्य पर्यटकीय क्षेत्र ठाकुरद्वारा पुग्न ओराही खोलामा पुल नहुँदा ओहोरदोहोर गर्न सास्ती खेप्नु परेको छ । 


बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण केन्द्र र ठाकुरबाबा मन्दिर दर्शन गर्न आउने जोकोहिलाई पनि ओराही खोलामा पुल नहुँदा सास्ती खेप्नु परेको छ । ओराही खोलामा छिटो पुल बनाउनुपर्ने स्थानीय बासिन्दाको माग छ । ठाकुरबाबा नगरपालिकाको ओराही खोला पारी ठाकुरबाबा नगरपालिकाको ठाकुरद्वारा, शिवपुर गरि ४ वटा वडा पर्छन् । ‘बाढी नघट्दासम्म खोला तर्न सम्भव नै हुँदैन । पानी पर्ना साथ एक्कासी भेल आउछ, कतिखेर बाढी घट्ला भनेर किनारमा घण्टौँ कुरेर बस्नुपर्ने समस्या छ’ शिक्षक झलक खनालले बताउनुभयो । वर्षा याममा ठाकुरद्वारा क्षेत्रमा आवतजावत ठप्प हुन्छ । ठाकुरद्वारा क्षेत्रका स्थानीय बासिन्दाका लागि नजिकको बजार भनेकौ पूर्वपश्चिम राजमार्गसँगै जोडिएको भुँरीगाउँ हो, बजार पुग्न ओराही खोला तर्नुपर्छ । 

No comments:

Post a Comment