Sunday, August 6, 2017

यातायात विभाग पुगेर मन्त्री बलायरले भने-सेवाग्राहीलाई दुःख नदिनुस्




२२ साउन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले यातायात ब्यवस्था विभागको मुख्य कार्यालयसहित सवारी चालक अनुमति कार्यालय एकान्तकुना र इम्बोस्ड नम्बर प्लेटको कारखनाको निरीक्षण गरेका छन् । यातायातमा लाइसेन्सको सेवा प्रभावकारी नभएको गुनासो ब्यापक भएपछि आइतबार मन्त्री बलाएर विभाग र त्यससम्बद्ध कार्यालयको निरीक्षण गरेका हुन् । अनुगमनका क्रममा मन्त्री बलायरले यातायात कार्यालयहरुको सेवा निकै कमजोर सेवाग्रहीलाई दुःख दिने किसिमको मात्रै भएको भन्दै असन्तुष्टी पोखे । उनले यसरी सेवा दिँदा सरकारप्रति जनताको विश्वास घट्ने बताए । ‘सँधैभरि यही तरिकाले काम चल्दैन । अब सेवाग्राहीले महसुस गर्न सक्ने गरी परिवर्तन जरुरी छ’ मन्त्री बलायरले भने,’समस्या छन् भने समाधानका लागि काम थाल्नुपर्‍यो । सेवा जसरी पनि प्रभावकारी हुनुपर्छ ।’ उनले सँधै सर्भर जाने समस्या रहिरहन नहुने भन्दै विभागका प्राविधिकहरुलाई गम्भिर ढंगले काम गर्न निर्देशन दिए । उनले प्राविधिक समस्या समाधानका लागि सरकारले सहयोग गर्ने पनि बताए ।


एकान्तकुनाको लाइसेन्स कार्यालयको अनुगमनका क्रममा मन्त्री बलायरले सेवा लिँदा सास्ती भोग्नुपर्ने अवस्था आफ्नै कार्यकालमा हटाउने बताए । ‘सेवा लिन आउँदा पनि दुःख भोग्नुपर्ने अवस्था मेरै कार्यकालमा हट्छ । योजना बनाएरै यसका लागि काम हुन्छ’ उनले भने । यसैगरी यातायात मन्त्री बलायरले विभागले सुरु गर्न लागेको इम्बोस्ड नमबर प्लेटको उत्पादन स्थलको पनि अवलोकन गरे । उनले इम्बोस्ड प्लेटको वितरण सुरु भएपछि सेवा प्रभावित नहुने गरी काम हुनुपर्ने भन्दै त्यसका लागि तयारी गर्न विभाग र ठेकेदार कम्पनीका अधिकारीलाई निर्देशन दिए । ‘अब राम्रो काम गर्ने कर्मचारी पुरस्कृत हुन्छन् । गलत गर्ने काम दण्डित हुन्छन्’ मन्त्री बलायरले भने,’यातायात सेवामा हुने सबै किसिमका विकृति अन्त्य गर्न म प्रतिवद्ध छु । मलाई सहयोग गर्नुस् ।’

No comments:

Post a Comment