'विधेयकको असफलताले सरकारसामु नैतिकताको प्रश्न'
२०७४ भदौ ५ गते प्रकाशित
५ भदौ, काठमाण्डौं । एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान संशोधन विधेयक अस्वीकृत हुनुमा सत्ता पक्षकै दोष रहेको बताए । एमालेले संविधान संशोधनको विपक्षमा मतदान गरे पनि यो प्रस्ताव पारित नहुनुमा सत्ता पक्षकै दोष रहेको नेम्वाङको तर्क छ । ‘एमालेले विधेयकलाई प्रक्रियामा नलैजाऊँ, पारित गराउन सकिँदैन र फेल गराउनु पनि ठीक हुँदैन भनेको थियो, विशेष समितिमा फर्काएर परिमार्जन गरौं भनेका थियौं हामीले,’ नेम्वाङले भने, ‘सत्ता पक्षले जबर्जस्ती प्रक्रियामा लग्यो र विधेयक अस्वीकृत भयो । यसबाट सरकारसामु नैतिकताको प्रश्न खडा भएको छ ।’ तथापि, संशोधन विधेयकलाई प्रक्रियामा लैजाने सन्दर्भमा सबै दलको सहभागिता देखिनु संविधान सभाबाट निर्माण भएको संविधानमा सर्वसम्मति जुटेको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ । ‘यो खुशीको कुरा हो,’ नेम्वाङले थपे । संशोधन विधेयक स्वीकृत/अस्वीकृत जे भए पनि स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा भाग लिने वचन राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएकाले त्यसमा शंका गर्न नहुने नेम्वाङको भनाइ छ । ‘उहाँहरु वचनको पक्का हुनु भएकाले चुनावमा भाग लिने कुरामा एमाले विश्वस्त छ,’ उनले भने ।
२०७४ भदौ ५ गते प्रकाशित
No comments:
Post a Comment