Sunday, August 6, 2017

अब उपत्यकामा सडकको क्षमता अनुसार रुट निर्धारण गरिने


२२ साउन, काठमाडौं । सरकारले उपत्यकाको यातायात व्यवस्थापन तथा सुधारका लागि सडकको आकार र क्षमताअनुसार गाडी चलाउने नीति कार्यान्वयनमा ल्याउने भएको छ । काठमाडौं दिगो सहरी विकास आयोजनाले उपत्यकाको ट्रफिक व्यवस्थापनसम्बन्धी तयार पारेको प्रतिवेदनअनुसार सरकारले त्यस्तो नीति कार्यान्वयन गर्न लागेको हो । यातायात व्यवस्था विभाग, साना ठूला सवारी कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार आयोजनाले सो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । प्रतिवेदनअनुसार यातायात व्यवस्था विभागले उपत्यकामा ६६ वटा रुट तोक्ने तयारी गरिरहेको जानकारी दिँदै उनले यो नीति कार्यान्वयनमा आइसकेपछि उपत्यकाका आठवटा सडक रुटमा ठूला, १६ वटा सडक रुटमा मझौला र ४२ वटा सडक रुटमा साना गाडीमात्रै गुड्न पाउने बताए । यो नीति कार्यान्वयन गर्न तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी उनले दिए । यो नीतिअनुसार एउटा रुटमा मात्र एक किसिमको सार्वजनिक यातायातका गाडी गुड्न पाउने उनले स्पष्ट पारे । अब गाडीको आकार तथा सडकको अवस्था हेरेर मात्र सवारीसाधनलाई रुट इजाजत दिने उनले स्पष्ट पारे । अहिले जस्तोसुकै सार्वजनिक यातायातलाई जुनसुकै रुटमा रुट इजाजत दिने व्यवस्था छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

२०७४ साउन २२ गते ६:३० मा प्रकाशित

No comments:

Post a Comment