Monday, August 14, 2017

बर्दियाको जब्दीघाट पुल उदघाटन नहुँदै भत्कियो

सदरमुकाम गुलरिया पुग्ने सबै मोटरबाटो बन्द

३० साउन, बर्दिया । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल भत्केको छ । यो पुल भत्किएपछि बर्दिया सदरमुकाम गुलरिया आउने जाने सबै मोटर बाटाहरु बन्द भएका छन् ।


यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो । तर, उदघाटन हुन नपाई भत्किएको छ । यसको निर्माणमै गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले भने, ‘यो पुल बनाउँदैदेखि फल्ट देखिएको थियो । पुल बांगो देख्नासाथ हामीले यो गलत छ भनेका थियौं । तर सुनुवाई भएन । अहिले भत्कियो ।’ पुल ४ सय ३५ मिटर लामो र ७.४ मिटर चौडा छ । यो पुल तरेर गुलरियाबाट बारबर्दिया नगरपालिका हुँदै पूर्वपश्चिम राजमार्गको रम्बापुर आउ-जाउ गर्न सकिन्थ्यो । यो पुल पनि भत्किएपछि सदरमुकाम गुलरियाको चारैतर्फबाट यातायात सम्पर्क टुटेको छ । 

गुलरिया पुग्ने सबै मोटरबाटा बन्द
गुलरियाबाट खजुरा हुँदै नेपालगञ्ज जाने बाटो, राजापुर जाने बाटो र भुरिगाउँ जाने बाटो पनि बाढीले भत्किएर यातायातका साधन चल्न सक्ने अवस्था छैन । मोटरसाइकल पनि मुस्किलले चलाउन सकिन्छ । प्रजिअ थापाले अनलाइनखबरसँग भने, ‘सबै बाटाहरु बन्द भएपछि गुलरिया नाकाबन्दीमा परेको जस्तो भा’छ ।’ भत्किएका बाटाहरुमा माटो हालेर मर्मत गर्न आफूले ठेकेदारसँग कुरा गरेको तर जमिन गिलो भएकाले अहिले त्यो पनि सम्भव नभएको जवाफ आएको उनले जानकारी दिए ।

२०७४ साउन ३० गते २०:४४ मा प्रकाशित

No comments:

Post a Comment