Wednesday, August 30, 2017

कान्ति बाल अस्पतालमा मौसमी रुघाखोकीका विरामीको संख्या उच्च

सचेत रहन चिकित्सकको आग्रह
१४ भदौ, काठमाडौ । पछिल्लो एक महिनामा कान्ति बाल अस्पतालमा रुघाखोकीका विरामीको संख्या उच्च देखिएको छ । कान्तिमा हाल रुघाखोकीका मात्रै दैनिक ४०० देखि ५०० को हाराहारीमा रुघाखोकीका विरामी आउने गरेका छन् ।  काठमाडौंमा मौसमी रुघाखोकीको समस्या बढेसँगै सर्वसाधारण नागरिक स्वाइन फ्लूको भएको शंकामा अस्पताल आउने गरेको कान्ति बाल अस्पतालका निर्देशक डा. गणेश राईले बताए ।

‘पछिल्लो समय कान्ति बाल अस्पतालमा रुघाखोकीका विरामीको चाप बढेको छ । यो रुघाखोकी सामान्य हो । जबकी मानिसहरुले यसलाई नबुझेर स्वाइन फ्लू भयो कि भन्ने आशंकामा अस्पताल आउने गरेका छन्’ । कान्ति बाल अस्पतालमा दैनिक ८/९ सयको हाराहारीमा विरामी आउने गरेकोमा त्यसमध्ये ५० प्रतिशत मौसमी रुघाखोकीका कारण अस्पताल आउने गरेको उनले वताए । ‘त्यसमध्य केहीलाई स्वाइन फ्लू भएको पनि हुनसक्छ । तर धेरैजसो चाही सामान्य रुघाखोकी लागे पनि स्वाइन फ्लू भएको छ कि भनेर अस्पताल आउने गरेका छन् ‘ । उनले भने । कान्तिमा आउने मौसमी रुघाखोकी विरामी मध्ये पनि फेरेन्जाइटिस, ल्यारेन्जाइटिस लगायत माथिल्लो श्वासप्रस्वास प्रणालीको संक्रमणका विरामी धेरै भएको कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा.कृष्ण प्रसाद पौडेल बताउँछन् ।

उनका अनुसार वर्ष सकिए लगत्तै आद्रता बढी हुने भएकोले पनि यस समयमा मौसमी रुघाखोकीका विरामी धेरै हुने गुरेका छन् । त्यसबाहेक, स्याङ्गजा, कास्की लगायतका ठाँउमा पनि स्वाइन फ्लू (एच्वानएनवान)को विरामी धेरै भएका कारण पनि कान्तिमा स्वाइन फ्लू नै भएको हो कि भन्ने आशंकामा मौसमी रुघाखोकीका विरामी धेरै आउने गरेका छन् । जबकी, मानिसबाट मानिसमा सर्ने मौसमी रुघाखोकी अर्थात स्वाइन फ्लू आफैमा कडा रोग नभएको उनको भनाइ छ । मौसमी रुघाखोकी अन्य इन्फ्लूएञ्जा झै सामान्य हो । मौसमी रुघाखोकी भाइरसका कारण मानिसबाट मानिसमा सर्ने गर्छ । यदी कसैलाई श्वासप्रस्वास सम्बन्धी समस्या भएमा, स्वास लिन गार्‍हो भएमा, उच्च ज्वरो आएमा , ३/४ दिनसम्म पनि ज्वरो नघटेमा तुरुन्त चिकित्सकका लैजानु पर्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डमा उल्लेख भए अनुसार मौसमी रुघाखोकीको खोप छ भन्दा माथिको प्रत्येक मानिसहरुलाई लगाउन सुझाव दिइन्छ । विशेषगरी, मुटु सम्बन्धी रोग भएका, निमोनिया, मिर्गाैला सम्बन्धी समस्या भएका, रोग प्रतिरोधात्मक क्षमता कम भएका, बालबालिका, वृद्धवृद्धा लगायतलाई यो खोप वर्षमा एक पटक लगाउन सुझाव दिइन्छ । नेपालमा यो खोपको १२ सय रुपैया पर्दछ । मौसमी रुघाखोकीले प्रत्येक वर्ष आफ्नो प्रकृति परिर्वतन गर्ने हुदाँ यस खोपले सबै प्रकारका इन्फ्लुएञ्जाबाट भने समेट्दैन । साथै यो खोप सबैलाई लगाउनु अनिवार्य पनि छैन । विशेषगरी अण्डाको एलर्जी भएका मानिसलाई भने यो खोप नलगााउन चिकित्सकहरु सुझाव दिने गर्छन् ।

मौसमी रुघाखोकीका लक्षण
यदी बच्चालाई स्वासप्रस्वास सम्बन्धि समस्या भएमा, स्वास लिन गार्‍हो भएमा, उच्च ज्वरो आएमा , ३/४ दिनसम्म पनि ज्वरो नघटेमा तुरुन्त चिकित्सकका लैजानु पर्छ ।

मौसमी रुघाखोकीबाट बच्ने उपाय
भीडभाड भएको ठाउँमा नजान, संक्रमित व्यक्तिहरुको नजिक नजाने, मास्कको प्रयोग गर्ने, हात राम्ररी धुने, झौलिलो कुरा खाने, सानो बच्चालाई समय समयमा स्तनपान गराउने, पोषिलो खानेकुरा खाने ।

२०७४ भदौ १४ गते प्रकाशित

Tuesday, August 29, 2017

चामल पकाउने २ विधी, जसले क्यालोरी कम गर्न सकिन्छ


अहिले धेरैले आफ्नो मेनुबाट चामल (भात) कटौती गरेका छन् । चामल सेवनले शरीरमा अतिरिक्त क्यालोरी जम्मा हुन्छ । त्यो मोटोपनको कारण बन्न सक्छ । मोटोपनले मधुमेह, उच्च रक्तचाप बढाउन सक्छ । धेरैको धारणा यहि छ । यद्यपी चामल पकाउने विधी थाहा भयो भने, त्यसमा रहेको क्यालोरी कम गर्न सकिन्छ । खासगरी मोटोपनको भय भएका र चामल पनि सेवन गर्न रुचाउनेहरुका लागि यो टिप्स उपयोगी हुनसक्छ ।

बिधी- १

यो तरिका एकदमै सामान्य छ । सामान्यतः घरमा भात पकाइरहेको बेला यसको प्रयोग गर्न सकिन्छ । यसका लागि चामललाई कुकरमा होइन, अर्को भाँडमा पकाउनुपर्ने हुन्छ । चामल उमाल्दा सामान्यभन्दा बढी पानी हाल्नुपर्छ । जब चामल उम्लन थाल्छ, तब त्यसको माड निकाल्नुपर्छ । अब चामलमा पानी निथि्रएपछि त्यसमा एउटा कागती निचोरेर त्यसको रस लगाउन सकिन्छ । यसले चामलको क्यालोरी कम हुन्छ । साथै, यो स्वस्थ्यकर पनि हुन्छ । कागतीले गर्दा भिटामिन सि समेत प्राप्त हुन्छ ।

विधी- २

यो तरिका अलि भिन्न छ र अनौठो लाग्न पनि सक्छ । किनभने यसका लागि नरिवलको तेल आवश्यक हुन्छ । नरिवलको तेलमा चामल पकाउनुपर्छ । विधी- १ मा जस्तै यसमा पनि चामल उमालेको समयमा नरिवलको तेल हाल्नुपर्छ । अब चामल उमालेको लगभग १० घण्टा फ्रिजमा राख्नुपर्छ । त्यसपछि यसलाई सेवन गर्न सकिन्छ । नरिवल तेलमा रहेको हेल्दी वोसोले स्वास्थ्यमा फाइदा गर्छ । साथै यस क्रममा चामलको रासयनिक संरचनामा हुने परिवर्तनले क्यालोरी पनि कम गर्छ । यो विधीबाट चामलको १० देखि ५० प्रतिशतसम्म क्यालोरी कम गर्न सकिन्छ ।

चामल सेवन गर्नुको फाइदा

१. प्रतिदिन भोजनमा चामल सामेल गर्दा शरीरमा कम्प्लेक्स, कार्बोहाइड्रेट र भिटामिन- बि मिल्छ ।

२. चामल पचाउन सहज हुन्छ । यसले पखला र अपच हुने भय हुादैन ।

३. पिसाब सम्बन्धी समस्या छ भने चामलको पीठोमा सोडा र चिनी मिसाएर पिउनुपर्छ, पिसाबको समस्या हट्छ ।

२०७४ भदौ १३ गते  प्रकाशित

कुलेश्वरको एक घरमा आगलागी, करिब एक करोड क्षति


१३ भदौ, काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित एक घरमा सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोमबार दिउँसो करिब साढे चार बजेतिर रामकृष्ण बैदारको घरमा आगो लागेको कालिमाटी प्रहरीले जनाएको छ । बिजुलीको तार सट भएर घरको चौथो तलामा आगो लागेको थियो । स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

२०७४ भदौ १३ गते  प्रकाशित

Thursday, August 24, 2017

घाँस काटिरहेकी महिलामाथि चितुवाको आक्रमण


बैतडी: बैतडीको तल्लोसोराडमा नरभक्षी चितुवाले फेरी आतंक मच्चाउन थालेको छ। केही महिना निष्क्रिय रहेको चितुवाले आज मेलौली नगरपालिका वडा नं ९ असुरमा एक महिलामाथि आक्रमण गरि घाइते बनाएको छ। बिहान ९ बजेतिर घर नजिकैको मकैबारीमा घाँस काटिरहेका बेला ४० बर्षीया कुन्दादेवी भट्टलाई चितुवाले आक्रमण गरेको हो। चितुवाले भट्टको नाक र बायाँ हातमा चिथोरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइते भट्टको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीमा उपचारमा रहेको छ। चितुवाले फेरी आक्रमण गर्न थालेपछि स्थानीयबासिन्दा त्रसित बनेका छन्। २०७३ भदौमा चितुवाले आक्रमण गरेर दुई बालिकाको ज्यान लिएको थियो।

गएको ६ बर्ष यता तल्लोसोराडमा चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ। नरभक्षी चितुवा मार्नका लागि दुईपटक प्रहरी परिचालन गरेको भएपनि मार्न भने सकिएको छैन्। नरभक्षी चितुवाले फेरी आक्रमण गर्न थालेपछि स्थानीबासीहरु त्रसित मणिलेक माविका शिक्षक अर्जुन कुवरले बताए। यसैबीच तल्लोसोराडमा चितुवाले आक्रमण गर्न थालेपछि स्थानीबासीले नरभक्षी चितुवा मार्न माग गरेका छन्। चितुवाले धेरै कोख रित्याएकाले जसरी पनि नियन्त्रण वा मार्नुपर्ने स्थानीयबासीको माग रहेको मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताए। 

उनले भने, 'चितुवाले गएको ६ बर्ष यता आतंक मच्चाउँदै आएको छ। यसलाई नियन्त्रण गर्न ढिलो भइसकेको छ । यसको नियन्त्रण गर्न नसके फेरी मानवीय क्षति गर्न सक्ने सम्भावना छ।'

७ गल्ती, जसले मधुमेहको रोगी बनाउँछ



मधुमेह किन हुन्छ ? यसको एउटा मात्र जवाफ छैन । अनेक कारणले मधुमेह हुन्छ । खासगरी अस्वस्थ्य खानपान र अस्तव्यस्त जीवनशैली, यसको मुल कारण हो । हामी जीवनयापनका क्रममा कति गल्ती गरिरहेका हुन्छौ, जसले मधुमेहको जोखिममा पार्छ । के हुन् त ति गल्ती ?


राती अबेरसम्म बस्नु
राती अबेरसम्म बस्ने, पर्याप्त निन्द्रा नलिने, रातभर जागा बस्ने, चुरोट सेवन गर्ने, रातको समयमा भोजन गर्ने जस्ता बानी छ भने त्यसले मधुमेहको जोखिममा पार्छ ।

घामको कमी
शरीरमा भिटामिन ‘डी’ को कमी भएका मानिसहरुलाई टाइप-२ मधुमेहको खतरा अधिक हुन्छ । खासगरी घाममा नबस्ने व्यक्तिहरु यसको जोखिममा परेका छन् । घाम भिटामिन डिको प्राकृतिक स्रोत हो ।

तनाव
तनाव तथा चिन्ता मधुमेहको एउटा प्रमुख कारण हुनसक्छ । किनकी तनाव तथा चिन्ताले शरीरले कार्टिसोल नामक हर्मोनको उतपादन गर्छ, जसले इन्सुलिन एक्टिविटीलाई बढाउँछ, यसले रगतमा चिनीको मात्रालाई समेत बढाउँछ ।

टेलिभिजनको लत
पिट्सवर्ग विश्वविद्यालयको एक अध्ययनले जनाए अनुसार टिभीको सामु विताएको हरेक घण्टाले मधुमेहको खतरा चार गुणा बढाईदिन्छ ।

बढी आरम गर्ने
पूरै दिन बसेर काम गर्नु त हुन्न ? अफिसमा झण्डै आठ घण्टा बसेरै काम गर्ने र घरमा गएर पनि टिभीमै दिन व्यतित गर्नुहुन्छ भने तपाईहरुलाई पनि मुटुरोग तथा मधुमेहको जोखिम बढी हुनसक्छ ।

नास्ता नगर्ने
के तपाईलाई थाहा छ ? जो मान्छेले विहानका नास्ता गर्दैन, उसले दिनभरमा क्यालोरीयुक्त खानेकुरा तथा बढी चिल्लो खानेकुराको सेवन गरिरहेको हुन्छ । यसबाहेक, शरीरलाई आवश्यक पर्ने खानेकुरा समेत खादैनन् । यसले इन्सुलिनको स्तर बढ्न सक्छ, र मधुमेह हुनसक्छ ।

अत्याधिक मात्रामा रिफाइन्ड कार्वोहाइड्रेटको प्रयोग
मैदायुक्त पाउरोटी, सेतो चामल, मैदा लगायतका खाद्यान्नको प्रयोगले शरीरलाई ज्यादामात्रामा इन्सलिन उत्पादन गर्न प्रेरित गर्छ र त्यसलाई शरीरले छिटै सोस्ने गर्छ । यसले गर्दा चाडै चाडै भोक लाग्ने गर्छ । परिणामस्वरुप अधिक खाना खाइन्छ ।

२०७४ भदौ ८ गते प्रकाशित

दशैं तिहारको अवसरमा मोबाइल मेला, खरिदमा हात खाली नजाने योजना



काठमाडौँ । ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुर मलमा दशैं तिहारको अवसर पारेर चौथो मोबाइल मेला आयोजना गर्ने भएको छ । मेला यही भदौ १६ गते देखि भदौ २६ गतेसम्म आयोजना हुने कम्पनीले जनाएको छ । ललितपुर मोबाइल एक्स्पोमा ७० प्रतिशत सम्मको छुट दिईने आयोजकले जनाएको छ । ग्राहकहरुले कुनैपनि मोबाइल फोनको खरिदमा ५ देखि ७० प्रतिशतसम्मको छुट तत्काल प्राप्त गर्ने ललितपुर मोबाइल कम्प्लेक्सले जानकारी दिएको छ । ग्राहकले हरेक मोबाइलको खरिदमा हात खाली नजाने योजना अन्तर्गत पावर ब्यांक, मेमोरी कार्ड, ब्लूटूथ हेडफोन, प्रिन्टेड कप, सेल्फी स्टिक, हेडफोन, स्पीकर प्राप्त गर्नसक्नेछन् । मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सय रुपैया देखि १ लाख ४० हजार रुपैया सम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

त्यस्तै मेलामा अन्य योजना अन्तरगत स्क्रयाच अफर, एसएमएस योजना, बम्पर पुरस्कारमा बाईक उपहार, क्यासब्याक, विभिन्न देशको टूरलगायतका मोबाइल खरिदमा लागू भएका योजना पनि एकैसाथ उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।

नेपालमा जिल्लाको संख्या ७७ पुग्यो !


रुकुम र नवलपरासीमा दुई-दुई जिससको चुनाव गराउने निर्वाचन आयोगको निर्णय



८ भदौ, काठमाडौं । निर्वाचन आयोगले रुकुम र नवलपरासी जिल्लामा दुई-दुईवटा जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय गरेको छ । यससँगै नेपालमा स्वतः ७७ जिल्ला कायम भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग चार नम्बर प्रदेशमा र बर्दघाट पश्चिमको भूभाग पाँच नम्बर प्रदेशमा पर्दछन् । पूर्व र पश्चिममा बिभाजित नवलपरासीमा अब अलग-अलग जिल्ला समन्वय समिति रहनेछन् । यसैगरी रुकुम जिल्लाको पूर्वी भाग पाँच नम्बर प्रदेशमा र पश्चिम भाग ६ नम्बर प्रदेशमा पर्दछन् । त्यसैले रुकुममा पनि दुई जिल्ला समन्वय समिति रहने निर्वाचन आयोगले जनाएको छ ।

रुकुम र नवलपरासीमा दुई-दुईवटा गरी जम्मा चार जिल्ला समन्वय समितिको चुनाव गराउने निर्णय निर्वाचन आयोगले गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । जिल्ला समन्वय समितिको निर्वाचन गर्नका लागि चारजना जिल्ला न्यायाधीशहरूको नामावली उपलब्ध गराउन कानून मन्त्रालयलाई भनिएको उनले बताए । नवलपरासी र रुकुम जिल्लाहरूमा जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न पनि स्थानीय विकास मन्त्रालयलाई भनिएको छ । यसैगरी चितवन जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको रूपमा कार्यरत जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेलाई नै थप जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।

२०७४ भदौ ८ गते प्रकाशित

Tuesday, August 22, 2017

राजधानीकै टुंगो छैन, कहाँ बस्छन् एआईजीहरु ?


६ भदौ, काठमाडौं । संघीय नेपालका प्रदेशका नाम के हुने छन् ? र, तिनको राजधानी कहाँ-कहाँ राखिने छ ? सरकारी अधिकारीहरुसँगै यसको चित्तबुझ्दो जवाफ छैन । प्रहरीले भने सातै प्रदेशमा विशिष्ट श्रेणीका अधिकारीलाई कमान्ड सुम्पेर राजनीतिभन्दा अगाडि नै आफ्नो उपस्थिति जनाएको छ । यसअघि अदालत र सरकारी वकिलका संरचना पुगेका छन्, प्रदेशहरुमा । सरकारले प्रदेश संसदको निर्वाचन मिति आगामी १० मंसिरलाई तय गरेको छ । प्रदेशहरुमा गभर्नर नियुक्तिको विषय त अहिलेसम्म बहसमै छैन । सात वटा प्रदेशमा प्रहरी प्रमुख बनाइएका एआईजीहरुमध्ये कमलसिंह बम त्यस्ता भाग्यमानी हुन्, जो ६ महिनापछि पश्चिम क्षेत्रीय प्रहरी कार्यालयको आफ्नै कुर्सीमा फर्केका छन् । उनको कार्यालयको नाम र पद फेरिएको छ र काँधमा एउटा तारा थपिएको छ । उनी डीआईजी छँदा पश्चिम क्षेत्रीय प्रहरी प्रमुख बनेका थिए, अहिले प्रादेशिक प्रमुख बनेका छन् ।

एआईजीहरुको पदस्थापनमा अर्को रोचक पक्ष पनि छ । प्रदेश १, ३, ४, ६ र ७ का प्रहरी प्रमुखहरुले यसअघि डीआईजीले प्रयोग गर्दै आएका विराटनगर, हेटौंडा, पोखरा, सुर्खेत र दिपालयस्थित कार्यकक्ष पाएका छन् । प्रदेश २ र ५ का प्रमुखका लागि भने कार्यालय नै टुंगो छैन । प्रदेश २ मा खटाइएका विजयलाल कायस्थले जनकपुर या वीरगञ्जस्थित अञ्चल प्रहरी (हाल संघीय प्रहरी एकाइ) कार्यालयमा डेरा जमाउनु पर्नेछ । प्रदेश ५ को प्रमुख बनेका मिङमार लामाका लागि तीन वटा ठाउँ विकल्पका रुपमा छन्, भैरहवा, नेपालगञ्ज या दाङ तुलसीपुरस्थित प्रदेश प्रहरी एकाइ कार्यालय । यसअघि प्रदेश २ का जिल्लाहरु पूर्व र मध्य क्षेत्रीय प्रहरी कार्यालयमातहतमा थिए । प्रदेश ५ मातहतका जिल्ला पश्चिम र मध्यपश्चिम प्रहरी कार्यालयको मातहत पर्थे । ‘प्रदेश २ र ५ का एआईजीहरुको कार्यालयबारे कुनै टुंगो लागेको छैन,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो, ‘अस्थायी व्यवस्था के हुने भन्ने पनि टुंगो लागेको छैन ।’ यति हतारमा एआईजीहरुलाई प्रदेशमा खटाउनुको औचित्यमाथि नै प्रश्न चिन्ह खडा भएको छ, यसबाट । उनीहरुले पाउने विशेष जिम्मेवारी के ? यसअघि डीआईजीहरुले गर्दै आएको कामलाई निरन्तरता दिने हो भने किन सरुवा गर्नुपरेको हो, विशिष्ट श्रेणीका अधिकृतहरुलाई ? प्रश्न अनुत्तरित छ ।

‘यो लाज ढाक्न टालो लगाएजस्तो भयो,’ एक पूर्वडीआईजीले भने ।

संघीय र प्रादेशिक कानुन निर्माण भएकै छैनन् । संघीय व्यवस्थाअनुसार प्रहरी ऐन र नियमावली पनि आएका छैनन् । संघ र प्रदेश, प्रदेश र स्थानीय तह तथा संघ र स्थानीय तहबीचको अन्तरसम्बन्ध नै स्पष्ट भइसकेको छैन । निजामति कर्मचारीहरुले तल्लो तहमा गएर काम गर्न आनाकानी गर्दै आएका छन् । प्रहरीका हाकिमहरु भने कार्यथलोमा जान हतारिएका छन् ।

६२/६३ को आन्दोलनयता उठ्दै आएको प्रश्न हो, सरकारले चाहेको प्रहरी कस्तो हो ? एआईजीहरुको पदस्थापनबाट जवाफ मिलेको छ, औचित्य नै प्रमाणित हुन नसक्ने भद्रगोल शैलीको । सर्वसाधारणसँग सीधा सम्पर्कमा रहेर काम गर्नुपर्ने प्रहरीको कार्यशैली सेना र अर्धसैनिक बलको भन्दा फरक हुन्छ । सेना र अर्धसैनिक बलमा सबै उत्तरदायित्व कमान्डरले बेहोर्छ । प्रहरीमा अधिकार तल्लो तहमा प्रत्यायोजन गरिएको हुन्छ ।

प्रहरीको सिपाही राज्यले दिएको बन्दुक भिरेर एक्लै सडकमा उभिन्छ । जति माथिल्लो तहमा गयो, त्यति नै हतियारको आकार घट्छ । एसएसपीभन्दा माथिको नीतिगत तहले त साथमा पेस्तोलको साटो लठ्ठी बोक्छ । लठ्ठी बोक्ने ‘र्‍यांक’ नै हो, एआईजीको पनि । प्रदेशहरुमा खटाइएका हालका एआईजीहरु सामु लठ्ठी बोकेर एक्लै सडक भौंतारिनुको विकल्प दिनसकेको छैन, सरकारले ।

२०७४ भदौ ६ गते  प्रकाशित

खिचापोखरीको एक होटलमा आगलागी, करिब एक लाख क्षति


६ भदौ, काठमाडौं । काठमाडौंको खिचापोखरीको एक होटलमा आज दिउँसो आगलागी भएको छ । दिउँसो सवा २ बजेतिर ग्यास लिक भएर आगो लागेको हो । आगलागीबाट फर्निचर लगायतका सामानहरु जलेर नष्ट भएका छन् । खाजा होटल सञ्चालकले एक लाख रुपैयाँ बराबरको क्षति भएको दाबी गरेका छन् । तर, बिशाल बजार प्रहरीले भने ७० देखि ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरेको छ ।

२०७४ भदौ ६ गते  प्रकाशित

Monday, August 21, 2017

एमाले नेता भन्छन्- सत्तापक्षकै कारण संशोधन फेल भयो

'विधेयकको असफलताले सरकारसामु नैतिकताको प्रश्न'

५ भदौ, काठमाण्डौं । एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधान संशोधन विधेयक अस्वीकृत हुनुमा सत्ता पक्षकै दोष रहेको बताए । एमालेले संविधान संशोधनको विपक्षमा मतदान गरे पनि यो प्रस्ताव पारित नहुनुमा सत्ता पक्षकै दोष रहेको नेम्वाङको तर्क छ । ‘एमालेले विधेयकलाई प्रक्रियामा नलैजाऊँ, पारित गराउन सकिँदैन र फेल गराउनु पनि ठीक हुँदैन भनेको थियो, विशेष समितिमा फर्काएर परिमार्जन गरौं भनेका थियौं हामीले,’ नेम्वाङले भने, ‘सत्ता पक्षले जबर्जस्ती प्रक्रियामा लग्यो र विधेयक अस्वीकृत भयो । यसबाट सरकारसामु नैतिकताको प्रश्न खडा भएको छ ।’ तथापि, संशोधन विधेयकलाई प्रक्रियामा लैजाने सन्दर्भमा सबै दलको सहभागिता देखिनु संविधान सभाबाट निर्माण भएको संविधानमा सर्वसम्मति जुटेको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ । ‘यो खुशीको कुरा हो,’ नेम्वाङले थपे । संशोधन विधेयक स्वीकृत/अस्वीकृत जे भए पनि स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा भाग लिने वचन राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएकाले त्यसमा शंका गर्न नहुने नेम्वाङको भनाइ छ । ‘उहाँहरु वचनको पक्का हुनु भएकाले चुनावमा भाग लिने कुरामा एमाले विश्वस्त छ,’ उनले भने ।

२०७४ भदौ ५ गते प्रकाशित

लाइन बस्ने झन्झट सकियो, घरमा बसी-बसी तिर्नुस् बिजुलीको बिल

बिद्युत प्राधिकरणले थाल्यो अनलाइन भुक्तानी प्रणाली


५ भदौ, काठमाडौं । अब नेपाल विद्युत प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नैपर्ने बाध्यता हटेको छ । घर बसीबसी अनलाइनबाटै बिद्युत महसुल तिर्न सकिने छ । इन्टरनेटमार्फत विद्युत महसुल बुझाउन सकिने सेवा प्राधिकरणले सोमबारदेखि सुरु गरेको हो । लगनखेलस्थित प्राधिकरण कार्यालयका ग्राहकले सोमबारदेखि अनलाइनबाटै भुक्तानी गर्न थालेका छन् । १५ दिनभित्र उपत्यकाका सबै ग्राहकलाई यस्तो सुविधा दिने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ ।

यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई-सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्राली, पेप्वाइन्ट, प्राली र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट पनि तिर्न सकिनेछ । साथै प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल क्लीयरिङ हाउससँग पनि सम्झौताकोे तयारी गर्दैछ । यस्तो महशुल किओस्क, पोस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिने छ ।

कार्यालयबाटै मिटर रिडिङको तयारी

बैंक, मोबाइल, वालेट सर्भिस प्रोभाइडर, तथा रेमिट्यान्स कम्पनी गरी अहिलेलाई झन्डै १५ हजार शाखाबाट यस्तो महसुल तिर्न सकिने सुबिधा उपलब्ध भएको छ । यसलाई अझै बिस्तार गर्ने प्राधिकरणले जनाएको छ ।
अनलाइन सेवा सुचारु गरेको जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले भने, ‘प्राधिकरणको शाखा कार्यालयमा लाइन लागेर महसुल तिर्नपर्ने बाध्यता अब हट्छ ।’ साथै उनले अब मिटर रिडिङका लागि मिटर रिडरलाई घर-घरमा जानैपर्ने बाध्यतालाई हटाउन लागेको जानकारी दिएका छन् । सबैतिर स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै मिटर रिडिङ हुने व्यवस्था पनि गर्ने मन्त्री शाहीको भनाइ छ ।

२०७४ भदौ ५ गते प्रकाशित

दोलखा केन्द्र बनाएर ४.६ को पराकम्प


५ भदौ, काठमाडौं । २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।
सोमबार साँझ ५ बजेर ४८ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ । दोलखा लगायत आसपासका जिल्लाहरु र काठमाडौंमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो ।
गोरखा भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिका ४८५ पराकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

Saturday, August 19, 2017

राजमार्गको यात्राः भोकको महाभारत र निदाएको प्रशासन

फाइल तस्वीर: पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने-बर्दघाट खण्डमा भासिएको सडक ।
जानैपर्ने भयो, सुर्खेत । वर्षायाम भएपनि त्यसदिन झरी दर्किएको थिएन । आकासमा कालो बादल भने मडारिरहेको थियो । गएको शुक्रबार । मध्यन्ह साढे २ बजे । मैलेे बस समाते, काठमाडौंबाट सुर्खेत जाने । मुग्लिङ-नारायणघाट सडकमा राति सवारी आवगमनमा निषेध गरिएको रहेछ । त्यसैले गोंगबु बसपार्कबाट पश्चिमका लागि हिँडेका यात्रुबीच साँझ कुरिनटारमा बास बस्ने र अर्को बिहान त्यहाँबाट यात्रा थाल्ने निधो भयो । पश्चिम हिँडेका यात्रुहरुको मेला लाग्यो, कुरिनटारमा । गाडीहरु पंक्तिबद्ध भए ।

अर्को मिर्मिरे बिहान यात्रा सुरु भयो । तर, अघिल्लो दिन जस्तो मौसम सामान्य भएन । मध्यरातदेखि परेको दर्के झरी थामिएको थिएन । नवलपरासीको अरुणखोला बजारमा खाना खान रोकिएका गाडीहरुले त्यहाँभन्दा अघि बढ्ने सुरसार गरेन । अपुष्ट खबर आयो, ‘बाटो अवरुद्ध छ ।’ त्यसलाई पुष्टि गर्ने कुनै उपाय भएन हामीसँग । सबैको मोबाइल स्विच अफ थियो, व्याट्री सकिएर । विपरितबाट आएका सवारी चालकले खबर सुनाए, ‘दाउन्नेमा सडक भाँसिएको छ ।’ कस्तो आपत ! अब गाडीको लाम लाग्न थाल्यो । गाडीको त्यो ताँती सामान्य दिन हुँदोहो त, शुक्रबार हिँडेका यात्रु शनिबार बिहान सुर्खेत, कैलाली, कञ्चनपुर पुगिसक्थे । तर, हामीले त्यसको आधा दुरी पनि छिचोलेका थिएनौ । यात्रुहरु हतास भए । के गर्ने, कसो गर्ने भन्दै हतारिन थाले । तर, त्यो संकटबाट फुत्किने कुनै उपाय थिएन ।

भोकको महाभारत

माग र आपूर्तिको नियम अर्थशास्त्रमा घोकिएको थियो । बाटोमा बिल्बिाठ भएपछि त्यसको अनुभव पनि गरियो । जामको कारण यात्रुको ओइरो लागेपछि खानेकुराको संकट हुने नै भयो । क्रमस खानेकुरा दुर्लभ हुँदै गए । कतिले त अरुणखोलामा पेट भरेका थिए । बाँकीको भने हरिबिजोग भयो । दुम्कीवास र अरुणखोल बजारको बीचमा रोकिएका यात्रुहरुले चाउचाउ र बिस्कुट त फेला पारे तर, अचाक्ली महंगो । एक प्याकेट चाउचाउको ५० रुपैयाँ । एक बोत्तल पानी पनि ५० रुपैयाँ । तर यात्रुले सोधेनन्, किन यति महंगो भनेर । किनभने सबैले देखेकै थिए, दर्केको झरिमा साइकलमा दु:खसाथ चाउचाउ, बिस्कुट ल्याएर बिक्री गरेको । 
दुम्कीबजारमा यात्रुहरु छरपस्ट भए । अनिश्चित यात्राले त्यो पट्यारलाग्दो बसाई लम्बिएको थियो । हामीले ट्राफिकलाई सोध्यौं, ‘बाटो कहिले खुल्छ ? उनीहरुले निरासलाग्दो जबाफ फर्काए, ‘आज बाटो बन्ने छाँट छैन ।’

निदाएको प्रशासन

शनिबार साँझसम्म बाटो खुलेन । दुम्कीवासबाट १५ किलोमिटर हिँडेपछि बर्दघाट पुगिन्छ । सडक भत्किएको ठाउँसम्म ११ कलोमिटर छ । त्यहाँबाट दाउन्ने भन्दा पनि बर्दघाट नजिक । तर, सबै यात्रुहरु दम्कीवास नै रोकिए । स्थानीय प्रसासन समक्ष हारगुहार गरियो, ‘यात्रुलाई बाटो भाँसिएको स्थानसम्म पुर्‍याउने व्यवस्था मिलाइदिनु पर्‍यो भनेर ।’ त्यहाँसम्म पुगेर पैदल हिँड्दै बाटो काटेपछि आफ्नो गन्तव्यतर्फ सोझिन पाइन्थ्यो । किनभने त्यहाँबाट बर्दघाटबाट सुनवल, बुटवल हुँदै सवारीसाधन परिवर्तन गरेर पश्चिमतर्फका गाडी फेला पार्न गाह्रो थिएन । तर, प्रशासनले त्यस्तो बिजोगमा पनि आँखा चिम्लियो । यात्रुको दुखेसोमा कान बन्द गरे । मैले गरेको अनुरोध बालुवामा पानी सरह भयो । एक दिन होइन, तीन दिनसम्म बाटो खुलाइएन । यात्रुको बिजोग छ । त्यतीका बिचल्ली भएको छ । न खाने वन्दोबस्त छ, न बस्ने । तर, त्यो पीडा स्थानीय प्रशासनले पटक्कै महसुस गरेन । यदि उसले चाहेको भए, त्यो बाटो खुलाउन केही समय लाग्ने थिएन । आखिरमा यात्रुहरु दम्कीवासमै थुनिए, एक छाक सादा खानाको ३ सय ५० रुपैयाँ तिर्दै ।

कति यात्रु बाटोमै बेखर्ची भए । घरसम्म पुग्ने खर्च बोकेर हिँडेकाहरु भोकभोकै रात कटाउन बाध्य भए । बेखर्ची यात्रुलाई अर्को यात्रुले ख्वाउनुपर्ने अवस्था आइलाग्यो । अन्ततः काठमाडौंदेखि सुर्खेत, नेपालगञ्ज, धनगढी, कञ्चनपुरको टिकट लिएका यात्रुले टिकटको माया मारे । उनीहरु गाडी छाडेर पैदलै आफ्नो गन्तव्यतिर लम्कन थाले । आइतबारसम्ममा यो लस्कर थप बढ्दै गयो ।बालबच्चा, रोगी, बुढापाका टिठलाग्दा भए । उनीहरु न बस्न सके, न हिँड्न । दर्के झरी छल्ने प्लाष्टिक समेत पाइएन । बेहाल भयो ।

मनकारी बर्दघाटवासी 

दम्कीवासमा यात्रुहरु रित्तिएका थिए । एक छाक खान समेत गाह्रो हुन्थ्यो । यात्रुको भिड बढेकाले रातारात खानेकुराको भाउ महंगिएको थियो । तर, बर्दघाटमा आइपुगेपछि यात्रुको सास आयो । झरीमा रुझ्दै हिँडेर आएको यात्रुलाई टिपरमा राखेर बर्दघाटसम्म पुर्‍याउने व्यवस्था गरिदिए, बर्दघाटबासीले । त्यती मात्र कहाँ हो र ? उनीहरुले तातो चिया र शुद्ध पानी दिए । कहिलेदेखि सुकेको घाँटी भिजाउन पाइयो । यात्रुकै दबावपछि दुम्कीबासबाट दाउन्नेसम्म ट्याक्टरले ओसार्न थाल्यो । यता स्थानियबासीले बर्दघाटबाट गाडी खोजेर बुटवलसम्म पुर्‍याइदिए । दुम्कीबासले चुसेका यात्रुहरु तीन दिनपछि सन्तोषको सास फेर्दै गन्तव्यतर्फ लम्किए । बर्दघाटबाट गाडी परिवर्तन गर्दै बाढी र पहिरो छलेर यात्रुहरु दाङसम्म पुगे ।

फेरि अलपत्र
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर-लमही सडक खण्डअन्तर्गत बाँकेको गुन्दली खोलाको पुल । तस्वीर : रासस 
दाङसम्म त पुगियो । तर, त्यहाँबाट अघि बढेपछि उस्तै दशा दोहोरियो । बाँके र शम्सेरगञ्जबीचको तीन वटा पुल बाढीले भत्काइदिएछ । राती ९ बजेतिर गाडीहरु रोकिए । यात्रु अलपत्र परे । पुल पारी साना गाडीहरु त थिए, तर हजारौ यात्रु त्यसले कसरी थेग्न सक्नु ? ९ किलोमिटरको अन्तरालमा गाडी फेर्नुपर्ने भयो । त्यो दुरी पार गर्न एक सय ५० रुपैयाँ । खुम्चिदै गएको खल्तीको माया गरेर भएन । पैसा तिरेर ९ किलोमिटर दुरी छिचोलियो । जसोतसो भत्किएको पुल त पार गरियो, तर त्यहाँ पनि यात्रुहरु उस्तै अलपत्र । घना जंगल । त्यहाँबाट सम्सेरगञ्ज जान १९ किलोमिटर, कोहलपुर ४७ किलोमिटर छ । रातको १० बजेको छ । अर्कोतिर जंगली जनवारको डर, राष्ट्रिय निकुञ्जको क्षेत्रमा भएकाले । केही विकल्प नभएपछि यात्रुहरु हिँडेरै सशस्त्र प्रहरी क्याम्पबाट अगाडि बढे । त्यसपछि भने केही ट्रकले यात्रुहरुलाई कोहलपुरसम्म ओसारे । भाडा भने दोब्बर । राति २ बजेसम्म ट्रकले यात्रुहरुलाई जंगलबाट कोहलपुरसम्म ओसारिसकेको थियो । कोहलपुरबाट कोही सुर्खेत लागे, कोही कैलाली, कोही कञ्चनपुर । चार दिनको पट्यारलाग्दो यात्रापछि बल्ल सास आयो ।

२०७४ भदौ ३ गते मा प्रकाशित

Friday, August 18, 2017

गोली लागेर मरेको चितुवा फेला


२ भदाै, अछाम । साँफेवगर नगरपालिका-८ वयलपाटामा एक चितुवा गोली लागेर मरेको अवस्थाका शुक्रबार फेला परेको छ । बयलपाटा बजार नजिक टाउकोमा गोली लागेर मरेको चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ६४ इन्च लामो र २२ इन्च उचाई भएको चितुवा गोली लागेर मृत अवस्थामा भेटिएको जिल्ला वन कार्यालय अछामका निमित्त प्रमुख विकास शर्माले पुष्टि गरे । मृत चितुवालाई वयलपाटाबाट सदरमुकाम मंगलसेनमा ल्याएर पशु चिकित्सकले पोष्टमार्टम गरेपछि गाडिएको छ । टाउकोबाट लागेको गोली छातिबाट र अर्को दाँया खुट्टाको माथिल्लो भागमा छेडेको भएपनि गोली फेला पर्न नसकेको बताइएको छ । मृत चितुवाको छाला, ४ वटा दाँत, १८ नग्रालाई झिकेर जैविक विभिधता संग्रालय चितवनमा पठाइने निमित्त प्रमुख शर्माको भनाइ छ ।

चितुवालाई गोली हान्ने व्यक्तिको खोजीमा अनुसन्धान टोली गठन गरिने भएको छ ।

२०७४ भदौ २ गते  प्रकाशित

गोरखाका लापू र काशीगाउँमा खाद्य असुरक्षा जोखिम हट्यो


२ भदौ, गोरखा । खाद्य असुरक्षाको उच्च जोखिममा रहेको साविकका ११ गाविस मध्ये दुई गाविस जोखिमबाट हटेको छ । लापू र काशीगाउँलाई खाद्य असुरक्षाको उच्च जोखिमबाट हटाइएको जिल्ला खाद्य सुरक्षा सञ्जालले जनाएको छ । सञ्जालले गत आर्थिक बर्षको तेस्रो चौमासिकमा तयार पारेको प्रतिवेदनमा लापू र काशीगाउँमा खाद्य असुरक्षाको जोखिम कम भएको नतिजा निकालेको थियो । सोही नतिजालाइ आधार मानेर सञ्जालको बैठकले उक्त क्षेत्रलाइ खाद्य असुरक्षाको उच्च जोखिम बाट हटाएको जिल्ला खाद्य सुरक्षा सञ्जालका वासुदेव पौडेलले बताए । उच्चतम खाद्य असुरक्षित अवस्था (चरण ३) मा रहेको साविकका ती गाविसलाइ मध्यम स्तरीय खाद्य असुरक्षित अवस्था (चरण २) मा झारिएको पौडेलले बताए । खाद्य असुरक्षाको अवस्था अनुसार साविकका गाविसहरुलाइ बिभिन्न तीन चरणमा वर्गीकरण गरिएको छ । उच्चतम खाद्य असुरक्षित अवस्था (चरण ३) मा साविकका प्रोक, बिही, ल्हो, चुम्चेत, छेकम्पार, सिर्दिवास, केरौंजा र उहिया रहेका छन् । यी क्षेत्रमा अझै पनि खाद्य असुरक्षाको उच्च जोखिम रहेको पौडेलको भनाइ छ । 

त्यस्तै मध्यम स्तरीय खाद्य असुरक्षित अवस्था (चरण २) मा साविकका थुमी, मान्वु, घ्याच्चोक, सौरपानी, स्वाँरा, गुम्दा, लाप्राक, लापु र काशीगाउँ रहेका छन् । ‘लापु र काशिगाउँ उच्चतम खाद्य असुरक्षित अवस्थामा थिए तर अहिले मध्यम स्तरीय खाद्य असुरक्षित अवस्थामा झरेका छन्,’ सञ्जालका पौडेलले भने । बाँकी अन्य क्षेत्र भने न्यूनतम खाद्य असुरक्षित अवस्था (चरण ३) मा परेको उनले बताए । लापु र काशिगाउँमा खाद्य सम्बन्धी बिभिन्न कार्यक्रमहरु संचालन भएसँगै खाद्य असुरक्षाको जोखिम कम भएको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । ‘उक्त क्षेत्रमा कामका लागी खाद्यान्न, चरन बिकास, जडिवुटी उद्योग स्थापना, आलु पकेट क्षेत्र स्थापना, आवास निर्माण, जीविकोपार्जन लगायतका कार्यक्रमहरु संचालन भएपछि खाद्य असुरक्षाको जोखिम कम हुन गयो,’ पौडेलले भने । सञ्जालले चालु आर्थिक बर्षको कात्तिक मसान्त सम्म चरण १ र २ मा रहेका क्षेत्रमा खाद्य सुरक्षाको अवस्था उस्तै रहने जनाएको छ । तर चरण ३ मा रहेका क्षेत्रहरुमा भने खाद्य सुरक्षाको अवस्था सुधार हुने अनुमान गरिएको छ । भौगोलिक बिकटता, मौसमी अवस्थाका कारण खाद्यान्न बालीको उत्पादकत्व बढाउन नसक्नु र सडक सञ्जालको नभएका कारण अझै पनि सविकका नौ गाविस खाद्य संकटको जोखिममा रहेको कार्यालयले जनाएको छ ।

२०७४ भदौ २ गते  प्रकाशित

सोमबारबाट सवारीमा इम्बोस्ड प्लेटः सरकारीमा अनिवार्य, तत्काल निजीलाई स्वेच्छिक


२ भदौ, काठमाडौं । सरकारले सोमबारबाट सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्न सुरु गर्ने भएको छ । सोमबारबाट बाग्मति अञ्चलमा दर्ता भएका निजी सवारीधनिले पनि आफ्नो सवारीमा स्वेच्छिक रुपमा इम्बोस्ड जोड्न पाउनेछन् । सोमबार प्रधानमन्त्री शेरबहादुर देउबाले इम्बोस्ड प्लेट जोड्ने कामको ओपचारिक सुरुवात गर्नेछन् ।  विभागले तत्काल सरकारी सवारीलाई अनिवार्य गरेपनि निजी सवारीलाई अनिवार्य गरिसकेको छैन । तर, केही समयभित्रै क्यालेण्डर बनाएर इम्बोस्ड प्लेटलाई सबै सवारीमा अनिवार्य रुपमा लागू गर्दै लैजाने तयारी भइरहेको विभागका प्रवक्ता डा. टोकराज पाण्डले अनलाइनखबरलाई बताए ।  सुरुवातमा काठमाडौंका निजीसहित सरकारी/संस्थान र कुटनीतिक नियोगका सवारीका नम्बर प्लेटहरुलाई इम्बोस्ड प्रविधिमा रुपान्तरण गर्ने तयारी छ ।

‘हामी क्यालेण्डर बनाएर यसलाई क्रमशः अनिवार्य गर्दै लैजान्छौं’ प्रवक्ता पाण्डेले भने,’बाग्मती अञ्चलमा दर्ता भएका निजी सवारीले पनि अहिले स्वेच्छिक रुपमा यसलाई जोड्न सक्छन् । हामी बाग्मती बाहिर पनि जति सक्दो छिटो यसको वितरण थाल्छौं ।’ इम्बोस्ड नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले इम्बोस्ड नम्बर प्लेट छाप्न सबै तयारी सकाएको छ । विभागको मिनभवनस्थित भवनमा मेसिन र उपकरण जोडेर छाप्ने कामको सबै तयारी गरिएको छ । यसअघि गत असोजबाटै इम्बोस्ड लागू गर्ने भनिएको थियो । यो प्लेट लागू गर्न टाइगर डेकाटुरले भ्याटबाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात ४ अर्ब ५ करोड रूपैयाँमा ठेक्का पाएको हो । अब यसअनुसार ५ वर्षभित्र २५ लाख सवारीको इम्बोस्ड प्लेट यो कम्पनीले छापेर सरकारलाई दिनेछ ।

५ वर्षभित्र देशभरका सबै सवारीमा इम्बोस्ड प्लेट जोडिसक्ने लक्ष्य छ । आफ्नो सवारीमा इम्बोस्ड प्लेट जोड्न चाहानेले यातायात कार्यलयमा गएर आफ्नो सवारीको विवरण भर्नुपर्नेछ ।

३ हजार ६ सयसम्म शुल्क

अहिलेको नम्बर प्लेट बदलेर इम्बोस्ड प्लेट राख्न छुट्टै दस्तुर तिर्नुपर्ने छ । मनित्रपरिषद्ले गरेको निर्णयअनुसार दुईपांग्रे मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड जडान गर्दा २ हजार ५ सय रुपैयाँ खर्च गर्नु पर्नेछ । टेम्पो लगायतका तीन पांग्रे साना सवारीमा यो प्लेट जोड्न २ हजार ९ रुपैयाँ राजस्व लाग्छ । यसैगरी कार, जीप,भ्यान तथा ट्र्याक्टरले ३ हजार २ सय र यसबाहेकका सबै प्रकारका ट्रक, बस लगायत ठूला सवारी साधनले इम्बोस्ड नम्बर जडान गर्दा ३ हजार ६ सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसरी जोडिने इम्बोस्ड नम्बरको आयु १० वर्षको हुनेछ ।

कसरी फरक छ यो प्लेट ?

अनिवार्य रुपमा सबै सवारीमा राखिने भएकाले यो प्लेट लागू गरेपछि करको दायरामा नआएका सवारीलाई विभागमा पुगेर राजश्व बुझाउन बाध्यता पर्नेछ । यसमा धातुको प्लेटमा यान्त्रिक माध्यमद्वारा अंक र अक्षर राखिन्छ । इम्बोस्ड नम्बरको अक्षर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । इम्बोस्ड नम्बरप्लेटमा चम्किलो नम्बर हुने भएकाले टाढैबाट पनि सजिलै नम्बर छुट्याउन सकिन्छ । यसमा लेखिएको नम्बरप्लेट उप्काउन र मेट्न नमिल्ने गरी जडान गरिएको हुन्छ ।

प्रवक्ता पाण्डेकाअनुसार नम्बरप्लेटको कुनामा साना सातवटा संकेत अक्षर राखिन्छन्, जसलाई मेसिनले मात्र पढ्न सक्छ । प्लेटको पछाडि ‘बार कोड’समेत समावेश हुन्छ । जसमा कम्पनीको नाम, मिति, संकेत हुन्छ । इम्बोस्ड प्रविधिमा चार प्रकारका मात्र नम्बर प्लेट मात्रै कार्यान्वयनमा आउनेछन् । सरकारी सवारीसाधनमा सेतो प्लेटमा रातो अक्षर र अंक तथा निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर र अंक हुनेछन् । कूटनीतिक सवारीसाधनका लागि सेतो प्लेटमा निलो अक्षर र अंक हुनेछ ।

यो प्लेटमा रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस पनि जोडिएको हुन्छ । यसले सवारीसाधन कहाँ र कुन अवस्थामा छ भन्नेबारे सो डिभाइस निगरानी गर्ने प्रविधियुक्त गेटले नजिकको टावरलाई जानकारी दिने पाण्डेले बताए । प्लेटमा जोडिएको चिप्सलाई मेसिनको सहायताले ‘रिड’ गरी सवारीसाधनको विवरण हेर्न सक्छन् । यो लागू भएपछि देशभर भएका सबै सवारीको विद्युतीय रेकर्ड सरकारसँग हुनेछ ।

सुरक्षात्मक प्लेट

यो प्लेट बलियो र किफायती हुनेछ । एकपटक जडान गरेपछि निकाल्न मिल्दैन । निकालेमा त्यसलाई काट्नैपर्छ । त्यसैकारण कसैले पनि सवारी चोरी गरेर चलाउन सक्दैन । किनभने यो प्रविधिको नम्बर प्लेट जडान गर्न यातायात कार्यालय पुग्नैपर्छ । साथै भन्सार छलेर ल्याइएका सवारीहरु पनि यो प्रणाली लागू भएपछि फन्दामा पर्नेछन् । इम्बोस्ड नम्बर प्लेट जडान भएका सवारीमा विभागले एउटा चीप्सस टाँस्नेछ । त्यो स्टीकरमा सवारीका विस्तृत विवरणहरु राखिन्छन् । संघीयतामा गएपछि पनि सवारी दर्ता प्रणालीलाई यसै स्टीकरमार्फत व्यवस्थित गर्न सकिने विभागले जनाएको छ । यो नम्बर प्लेटमा राखिने प्रविधियुक्त चीप्स भित्र पनि सवारी धनी र सवारीका विभिन्न विवरणहरु हुन्छन् । जसका आधारमा प्रहरीले सवारीको डिटेल तुरुन्त लिन सक्छ । प्रहरीले हातैमा बोक्ने रिडर मेसिनले इम्बोस्ड नम्बर प्लेटलाई सहजै चेकजाँच गर्न सक्छ । यस्तै शहरका विभिन्न भाग र राजमार्गहरुमा इम्बोस्ड नम्बर प्लेटलाई रिड गर्ने मेसिनसहितको गेट राखिने छ । जसलाई पार गर्ने जुनसुकै सवारीका सबै विवरणलाई मेसिनले रिड गरेर कम्प्युटरमा ‘अटो इन्ट्री’ गर्नेछ । यसबाट कुन सवारी कुन क्षेमा छन् भन्ने थाहा पाउन समय लाग्दैन ।

काठमाडौंमा मात्रै ५ वटा स्थानमा नम्बर प्लेट रिड गर्ने मेसिनसहितको गेट राख्ने विभागको योजना छ । विशेषगरी शहरी क्षेत्रका नाका तथा राजमार्गका विभिन्न ठाउँमा यस्ता मेसिनसहितका गेटहरु जडान हुनेछन् ।
यसैका माध्यमबाट कुन नम्बरको गाडी, कुन समयमा, कुन ठाउँका पुग्यो भन्ने सुचना नम्बर प्लेटकै सहयोगमा प्रहरी र विभागले प्राप्त गर्न सक्छ । यो सुविधाले प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्ने विभागको विश्वास छ ।

२०७४ भदौ २ गते १६:०९ मा प्रकाशित

अमेरिकाको एमसीसीले नेपालका लागि पास गर्‍यो ५१ अर्ब अनुदान



२ भदौ, काठमाडौं । अमेरिकी सरकारको मिल्लेनियम च्यालेञ्जर कर्पोरेसन (एमसीसी) को सञ्चालक समितिले नेपालका लागि ५० करोड अमेरिकी डलर अर्थात ५१ अर्ब रूपैयाँको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको छ । यो रकम विभिन्न ठूला परियोजनामा अनुदानका रुपमा आउनेछ । कम्प्याक्ट कार्यक्रम एमसीसीको दक्षिण एसियामै पहिलो कम्प्याक्ट हो । एमसीसीको लगानीलाई सहयोग गर्न नेपाल सरकारले थप १३ करोड अमेरिकी डलर र्थात १३ अर्ब रुपैयाँ योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यदि तोकिएको ५ वर्षभित्र यो रकम खर्च नभए रकम अन्य कामका लागि पाइने छैन र त्यो अमेरिका नै फर्कनेछ ।

अमेरिकी कंग्रेसद्वारा समीक्षा हुन बाँकी कम्प्याक्ट कार्यक्रममा दुवै सरकारले सेप्टेम्बरमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । ‘नेपाल कम्प्याक्ट कार्यक्रमलाई एमसीसीको सञ्चालक समितिले स्वीकृत गरेको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ,’ एमसीसीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन न्याशले भने ।

क्षेत्रीय स्तरमा सम्बन्ध विस्तार सुधार गर्न, निजी लगानीलाई प्रोत्साहन दिन, वृद्धिलाई अगाडि बढाउन र गरिबी न्यूनीकरण गर्नका लागि नेपाल कम्प्याक्ट कार्यक्रम विद्युत् तथा यातायातको क्षेत्रमा केन्द्रित हुनेछ ।

नेपाल सरकारबाट हुने थप १३ करोड डलरको योगदानले हाम्रो लगानीलाई अझै बढी प्रभावकारी बनाउन एसीसीले जनाएको छ । राष्ट्रपति ट्रम्प नेतृत्वको सरकार अन्तर्गतको एमसीसी सञ्चालक समितिले स्वीकृत गरेको यो नै पहिलो कम्प्याक्ट कार्यक्रम हो । पहिलो चरणमा एकमुष्ट रूपमा कुनै एक मुलुकलाई दिइएको यो रकम एमसीसीकै इतिहासमा सबैभन्दा ठूलो हो । डिसेम्बर २०१४ मा एमसीसीको सञ्चालक समितिले नेपाललाई कम्प्याक्ट कार्यक्रमका लागि योग्य देशका रूपमा छनोट गरेदेखि नै उक्त कार्यक्रम विकसित गर्न थालिएको हो । विधिको शासन र लोकतान्त्रिक निकायको स्थापना गर्ने दिशामा मुलुकले गरेका प्रयत्नमका साथै एमसीसीको  नीतिगत स्कोर बोर्डमा नेपालको सशक्त कार्यक्षमता प्रदर्शनको कदर स्वरूप नेपाललाई एमसीसीको अनुदानमा आधारित बृहत् आकारको लगानीका लागि योग्य ठहराइएको एसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्प्याक्ट कार्यक्रम अन्तर्गत दुई परियोजना सञ्चालन हुनेछ । विद्युत् उत्पादनमा नयाँ लगानीलाई समर्थन गर्नका लागि विद्युत् प्रसारणको उच्च भोल्टेज सञ्जाललाई विस्तार र मजबुतीकरण गर्दै नेपालको विद्युत् क्षेत्रलाई रूपान्तरण गर्ने गरी विद्युत् प्रसारणसम्बन्धी परियोजनालाई तर्जुमा गरिएको छ ।

परियोजनाअन्तर्गत करिब ३०० किलोमिटर लामो उच्च भोल्टेज प्रशारणलाइन निर्माण गरिनेछ । भारतसँग विद्युत् व्यापार सहजीकरण गर्नका लागि दोस्रो सीमापार प्रसारण लाइन थप गरिनेछ । निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न क्षेत्रगत शासन सुधार गर्नका लागि क्रियाकलापहरू सञ्चालन गरिनेछ । नेपालको सडक मर्मतसम्भार व्यवस्थालाई सुधार गर्ने गरी तर्जुमा भएको सडक मर्मत सम्भारसम्बन्धी परियोजनाले अन्य पक्षहरूको नयाँ सडक निर्माण गर्ने विद्यमान प्रयत्नमा पूरकको भूमिका खेल्ने एमसीसीले जनाएको छ । नेपाल कम्प्याक्ट कार्यक्रमसँग जोडिएका खरिद तथा व्यावसायिक अवसरसम्बन्धी सूचना आगामी महिनाहरूमा दिइने विज्ञप्तिमा उल्लेख छ ।


२०७४ भदौ २ गते प्रकाशित

भारतले रोकेको बुलेट १ महिनाभित्र सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन



२ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली नम्बरका ग्यास बुलेट एक महिनाभित्र सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । शुक्रवार संसद सचिवालय सिंहदरवारमा बसेको समितिको बैठकले भारतीय असहयोगका कारण रोकिएका ग्यास बुलेट सञ्चालनमा ल्याउन परराष्ट्र मन्त्रालय र आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । २०७३ साल असारमा नेपाल आयल निगमले ७ सय ७५ वटा खाना पकाउने एलपी ग्यास बोक्ने बुलेट सञ्चालनका लागि स्वीकृति दिएको थियो । जसअनुसार झण्डै आधा संख्याका बुलेट तयार भइसक्दा पनि सञ्चालनका लागि अनुमति पाउन सकेका छैनन् । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार अर्डर दिइएका ७ सय ७५ वटै बुलेटमध्ये ४ सय बुलेट निर्माण भई भारत सरकारको विष्फोट खतरामूक्त प्रमाणपत्र (एक्स्प्लोसिभ सर्टिफिकेट) को पर्खाइमा छन् । निर्माण भएको ८ महिना कटिसक्दा पनि ती बुलेटले उक्त प्रमाणपत्र पाउन सकेका छैनन् । एक्स्प्लोसिभ सर्टिफिकेटबिना बुलेटले ग्यास बोक्न पाउँदैनन् ।

समितिले निर्माण भइसकेका बुलेट सञ्चालनका लागि आवश्यक प्रशासनिक तथा कुटनीतिक पहल गर्न सरकारलाई निर्देशन दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको यही भदौ सात गते हुन लागेको भारतीय भ्रमणमा यस विषयलाई प्राथमिकताका साथ उठाउन पनि समितिले निर्देशन दिएको छ । व्यवसायीहरूले लामो समयदेखि रोकिएका बुलेट सञ्चालनका लागि सरकारसँग माग गरिरहेका छन् । व्यवसायीका अनुसार ७ सय ७५ वटा बुलेटमा झण्डै ५ अर्ब रुपैयाँ लगानी भइसकेको छ । त्यस्तै, शुक्रवारको बैठकले समिति अन्तर्गत गठित आपूर्ति तथा उपभोक्ता हित उपसमितिसँग समन्वय गरी नेसनल ट्रेडिङ कर्पोरेसनको भूमिका पुनरावलोकन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

मुलुकका दूर्गम भेगमा खाद्यान्न ढुवानीमा पारदर्शिता र अनुसाशन कायम गर्न, बजार अनुगमनलाई चूस्त बनाउन र चाडबाडको समयमा शुपथ मूल्य पसललाई प्रभावकारी बनाउन पनि आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

२०७४ भदौ २ गते १७:०५ मा प्रकाशित

Thursday, August 17, 2017

यी युवती बन्दैछिन् दुनियाकै अग्ली बेहुली


ब्राजिलियन युवती एलिसेनीको लम्बाई ६ फुट ८ इन्च छ । २० वर्षकी एलिसेनीले छिटै बिहे पनि गर्दैछिन् र उनी दुनियाकै सबैभन्दा अग्ली बेहुली बन्नेछिन् । एलिसेनी डा क्रुजले आफुजस्तै अग्लो बेहुलो रोजिन् भन्ने सोच्नुभयो भने तपाईं गलत हुनुहुन्छ । पेशाले निर्माण मजदुर रहेका उनका हुनेवाला बेहुला फ्राकिनाल्डो उनीभन्दा १ फुट चार इन्च होचा छन् । एलिसेनी र फ्राकिनाल्डो तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् र पछिल्लो एक वर्षदेखि लिभ इन रिलेसनमा । अब उनीहरुले बिहे गर्ने निधो गरिसकेका छन् । बिहेसँगै एलिसेनीले दुनियाकै अग्ली बेहुलीको कीर्तिमान राख्नेछिन् ।

एलिसेनीको शरीर त्यति अग्लो हुनुको खास कारण चाहीँ ट्युमर रहेछ । उनी पिट्युटरी ग्रन्थीको ट्युमरबाट पीडित छिन् । जसका कारण उनको जीउको उचाई लगातार बढिरह्यो । उनलाई आफ्नो उचाईका कारण समस्या भने भोग्नुपर्यो । उनले मोडलिङ गर्ने सोच राखिन् तर सफलता मिलेन । तर अन्ततः आफ्नो जिवनसाथी फेला परेपछि चाहीँ उनी निकै खुसी छिन् । आफू बिहेको उत्कट चाहना र प्रतीक्षामा रहेको उनी बताउँछिन् ।

Wednesday, August 16, 2017

ओबामाको एक ट्वीटले रच्यो इतिहास


यो हुनसक्छ कि राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो सञ्चारको साधन हुनसक्छ । तर ट्वीटरको इतिहासमा पूर्व राष्ट्रपति बाराक ओबामाको एउटा ट्वीट सबैभन्दा धेरै मन पराइएको हो । ओबामाले नेल्सन मण्डेलाको तीन बक्तव्यको शेयर गरे र साथमा एउटा फोटो अपडेट गरे । जसमा एउटा डे-केयर सेन्टरको झ्यालबाट हेरिरहेका बच्चालाई हेरेर मुस्कुराइरहेका थिए । ती बच्चाहरु अलग अलग परिवारका थिए र उनीहरुलाई हेरेर ओवामा निक्कै खुसी देखिएका थिए । ओबामाको त्यस ट्वीटमा २८ लाखभन्दा बढीले लाइक गरेका छन् जुन उनले १३ अगष्टमा भर्जिनियामा भएको हमलापछि यो ट्वीट गरेका थिए । यस ट्वीटले मे मा म्यान्चेस्टर आतंकबादी हमलालाई निन्दा गर्ने एरिआना ग्राण्डेको ट्वीट कीर्तिमानलाई पछि छाडेको छ । ती ट्वीटमा ओबामाले मण्डेलाको आत्मकथा ‘द लङ टू फि्रडम’को एक अनुच्छेद पोष्ट गरे ।

२०११ को हो तस्वीर

ओबामाले ट्वीटमा लेखे, ‘कोहि पनि एक अर्कालाई छालाको रंग वा उसका परिवार वा उसको धर्मलाई निन्दा गरेर जन्म दिएको हुँदैन ।’ ‘मानिसलाई धृणा गर्न सिकाउनुपर्छ, र यदि उसले धृणा सिक्न सक्छ भने उसलाई माया गर्न पनि सिकाउन सकिन्छ । मानवीय हृदयमा माया आफैं आउँछ ।’ यो तस्वीर २०११ को हो जव ओवामा मेरिल्याण्डको बेथेस्डास्थित डे-केयर सेन्टर पुगेका थिए । यो तस्वीर त्यसबेला हृवाइटहाउसका आधिकारिक फोटोग्राफर रहेका शौजाले लिएका थिए । ट्रम्प राष्ट्रपति बनेपछि शौजाले लगातार विषयगत तस्वीरहरु इन्स्टाग्राममा शेयर गरिरहेका छन् । यसमा धेरैजसो तस्वीरमा ट्रम्पको तुलनामा ओबामालाई असल देखाउने प्रयास गरिएको छ ।

२०७४ साउन ३२ गते प्रकाशित

लुक्ला विमानस्थल आठ दिनदेखि अवरुद्ध, पर्यटक रोकिए

३२ साउन, सोलुखुम्बु । पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा मौसम खराबीका कारण गएको आठ दिनदेखि उडान प्रभावित हुँदा पर्यटक रोकिएका छन् । बाक्लो हुस्सु तथा लगातारको वर्षाका कारण बितेको आठ दिनयता उडान हुन नसकेको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिए । उडान हुन नसक्दा खुम्बु घुमेर फर्कन लागेका करिब एक सय पर्यटक लुक्लामा रोकिएको व्यवसायी छिरिङ शेर्पाले बताए । तारा एयर लुक्लाका प्रमुख फुनुरु शेर्पाका अनुसार अहिले पर्यटक आउने मौसममा दैनिक चार/पाँचवटा उडान हुने गरेकामा आठ दिनदेखि ठप्प छ । लगातारको मौसम खराबीका कारण केही पर्यटक लुक्लाभन्दा केही तल सुर्केमा हेलिकोप्टर मगाएर राजधानी फर्केका छन् भने केही फाप्लुतर्फ पैदल हिँडेका छन् ।

लुक्लाबाट फाप्लु पुग्न सामान्तया पर्यटकका लागि तीन दिनभन्दा बढी पैदल हिँड्नुपर्छ । जिल्लाको अर्को विमानस्थल फाप्लुमा पनि करिब एक महिनायता उडान हुनसकेको छैन । फाप्लुबाट भने सडक यातायात सञ्चालनमा रहेकोले यात्रुले विकल्प पाइरहेका छन् ।

२०७४ साउन ३२ गते प्रकाशित

बाढीले बगाएर एकसिँगे गैंडा भारत पुर्‍यायो, नेपाल ल्याउने तयारी

३२ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुर्लभ एकसिँगे गैंडालाई बाढीले बगाएर भारतसम्म पुर्‍याएको भेटिएको छ । हालसम्म पहिचानभएकामध्ये एउटा गैंडा मृत भेटिएको छ भने एउटा भारतीय बस्तीमा र चारवटा नेपाल र भारतका वन क्षेत्रमा भेटिएका छन् । निकुञ्जको टोलीसहित दुई दिनदेखि भारतीय क्षेत्रमा गैंडाको खोजी गर्दै आएका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालकाअनुसार बाल्मिकीनगरबाट ४२ किलोमिटर दक्षिणपूर्व बगाहा भन्ने भारतीय गाउँमा दुई वर्षको गैँडा देखिएको छ ।

नदीले बगाएर लगेपछि त्यहाँ उत्रिएको गैंडालाई ल्याउने प्रयास सुरू भएको छ । यस सम्बन्धमा भारतीय अधिकारीसँग कुराकानी भइसकेको भन्दै उनले नारायणगढ- बुटवल सडक खण्डको दाउन्नेमा बाटो सुचारु भएमा सो गैँडा बुधबार ल्याइने बताए । सौराहाबाट प्राविधिक टोली त्यसतर्फ गएको छ । बस्तीको बीचमा रहेकाले तत्काल उद्धार गर्न आवश्यक भएको अर्यालले बताए । भारतीय बाल्मिकी टाईगररिजर्बका डिएफओ र सरकारी अधिकारीसँग समन्वय भइसकेकाले बाटो सुचारु भएलगत्तै काम अघि बढ्ने उनले बताए । बाढीले अर्को एक गैंडा भारतकै बाल्मिकी नगरमा पुर्‍याएको छ । त्यसैगरी नवलपरासीको नर्सही भन्ने ठाउँमा एउटा, त्रिवेणी मध्यवर्ती सामुदायिक वनमा एउटा र बाल्मिकी आश्रममा एउटा गैंडा भेटिएका छन् ।

गैंडा जंगलमा रहेकाले पानीको मात्रा घटेपछि उद्धार गरी निकुञ्जमा ल्याइने निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बताए । गैंडाको सुरक्षाका लागिआवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ । बाढीकै कारण डुमरिया पोष्टमा एक रतुवा र एक चित्तल, अमलटारी क्षेत्रमा दुई चित्तल, ध्रुवमा एक चित्तल, निकुञ्जभित्रको सेरीमा एक चित्तल मृतअवस्थामा भेटिएका छन् । राप्ती र नारायणीको बाढीले अरु धेरै जनावर बगाएको र मरेको अनुमान गरिएको छ ।



२०७४ साउन ३२ गते १३:०६ मा प्रकाशित

फोक्सोको संक्रमणः कसलाई, किन र कसरी हुन्छ ?

वातावरण विभागले गरेको मापन अनुसार काठमाडौंको हावा अति प्रदूषित रहेको र यहाँको हावामा सास फेर्न अयोग्य हुने डरलाग्दो तथ्यांक सार्वजनिक भइसकेको छ । काठमाडौंको भयानक प्रदूषणले गर्दा सैयौं जनालाई श्वासप्रश्वास सम्बन्धी समस्या पैदा भएको छ भने, सैयौंलाई फोक्सोको क्यान्सर समेत भएको तथ्यांक छ । त्यसो त काठमाडौं मात्र होइन, देशमा शहरी क्षेत्रमा बढ्दो प्रदूषणले फोक्सोको रोगी बढाउँदैछ । अर्कोतिर धुमपान र सूर्तिजन्य पदार्थ सेवनका कारण श्वासप्रश्वासको रोगी डरलाग्दो ढंगले बढिरहेको छ । धुमपान गर्ने मात्र होइन, नगर्नेहरु समेत रोगको सिकार भएका छन् । खासगरी अरुले गर्ने धुमपानले पनि लाखौंको फोक्सो खराब गरिरहेको छ ।

प्रकृतिको निशुल्क उपहार 
शरीरले सास ग्रहण गर्न कुनै खर्च गर्नुपर्दैन । प्रकृतिले दिएको निशुल्क उपहार हो यो, जसको माध्यामबाट हाम्रो प्राण धानिएको छ । शरीरमा श्वसप्रश्वास प्रक्रियालाई नियमित र सहि ढंगले सुचारु राख्नका लागि फोक्साको भूमिका हुन्छ । यद्यपी अनेकौ कारणले हाम्रो फोक्सो खराब भइरहेको हुन्छ । यहि कारण श्वासप्रश्वास प्रक्रियामा समस्या आउने गर्छ । 


चुरोट र सूर्तीले बर्षेनी १५ हजारको मृत्यु
फोक्सो खराब हुने अनेक कारण हुन्छन् । त्यसमध्ये वायु प्रदूषण तथा धुमपान प्रमुख हुन् । नेपालमा सुर्तीजन्य पदार्थकै कारण वर्षेनी १५ हजारले ज्यान गुमाउने गरेको विभिन्न तथ्यांकले देखाएको छ । विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार विश्वमा सुर्तीजन्य पदार्थ सेवनका कारण बर्षेनी ६० लाख मानिसको मृत्यु हुने गरेको छ । त्यस्तै, अर्काले गरेको धुमपानका असरका कारण विश्वमा प्रत्येक वर्ष करिब छ लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।

वायु प्रदूषणले फोक्सोको रोगी बढेको बढ्यै
वायु प्रदुषणका कारण पनि फोक्सोको संक्रमण हुने गर्दछ । स्वास्थ्य मन्त्रालयको एक तथ्यांक अनुसार वायु प्रदूषणकै कारण नेपालमा श्वासप्रश्वासका रोगीको संख्या विगत ५ वर्षमा दोब्बर भएको छ ।हाल नेपालमा उक्त रोगीको संख्या ४३ प्रतिशत पुगेको छ । जस अनुसार ०६९ सालमा नेपालमा स्वास प्रस्वास सम्बन्धी रोगीको संख्या १९ हजार रहेकामा आर्थिक वर्ष ०७२/०७३ मा उक्त संख्या बढेर झण्डै २८ हजार पुगेको छ ।
के हुन्छ असर ?

धुमपानको असर- धुमपान तथा सुर्तीन्य पदार्थका कारण मानिसको मुटु, फोक्सो तथा कलेजोलाई असर गर्छ । जसको कारण मानिसलाई सिओपिडी (दीर्घकालीन अवस्थासम्म फोक्सो सुनिनु), टीबी, आज्मा, निमोनिया, लगायत फोक्सोको क्यान्सर लगायतका समस्या आउन सक्छ । वायु प्रदूषणका असर- विज्ञहरुका अनुसार वायुमा हुने स-साना कण स्वासनली हुदै फोक्सोमा पुग्छ, जसले श्वास लिन र फाल्नमा कठिनाई हुन्छ । यसले घाँटीको एलर्जी, दम, स्वास्वा हुने, ब्रोनकाइटिस लगायतका समस्या उत्पन्न गराउँछ । त्यस्तै, प्रदुषणले मुटुमा समेत असर गर्नुका साथै आँखा तथा छालामा समेत असर पार्छ ।

कसरी बच्ने ?
यसबाट बच्नको लागि फोक्सोलाई स्वस्थ्य राख्न जरुरी छ । त्यसका लागि सबैभन्दा महत्वपूर्ण भनेको धुमपान वा सूर्तिजन्य पदार्थ सेवन नगर्नु नै हो । वातावरणीय सफाई अर्को मूख्य सर्त हो । प्रदूषित हावाको सोझो असर फोक्सोमा पर्छ । त्यसैले यसबाट बच्नपर्छ ।

१. फोक्सोलाई स्वस्थ राख्न बिहान नियमित दौडनुपर्छ ।

२. आवश्यक परेको बेलामा मात्र गाडीको प्रयोग गरौ । अन्यथा पैदल हिँडौ  । पैदल हिँड्नाले फोक्सोमा भएका विकारलाई हटाएर फोक्सोलाई स्वस्थ राख्छ ।

३. सकेसम्म धूँवा, धुलोबाट बचौं । हिँड्नै परे मास्कको प्रयोग गरौ ।

४. पौष्टिक भोजन गरौ । फोक्सोलाई स्वस्थ राख्न फुलगोभी, ब्रोकाउली तथा बन्दाकोभीका अधिक सेवन गरौ । यसकेा सेवनले फोक्सोको क्यान्सरको जोखिम कम गर्छ ।

५. त्यसबाहेक, पानीको सेवन प्रशस्त मात्रामा गरौ । यसले पनि फोक्सोलाई सफा राख्छ ।

२०७४ साउन ३२ गते  प्रकाशित

Monday, August 14, 2017

बर्दियाको जब्दीघाट पुल उदघाटन नहुँदै भत्कियो

सदरमुकाम गुलरिया पुग्ने सबै मोटरबाटो बन्द

३० साउन, बर्दिया । बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल भत्केको छ । यो पुल भत्किएपछि बर्दिया सदरमुकाम गुलरिया आउने जाने सबै मोटर बाटाहरु बन्द भएका छन् ।


यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो । तर, उदघाटन हुन नपाई भत्किएको छ । यसको निर्माणमै गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले भने, ‘यो पुल बनाउँदैदेखि फल्ट देखिएको थियो । पुल बांगो देख्नासाथ हामीले यो गलत छ भनेका थियौं । तर सुनुवाई भएन । अहिले भत्कियो ।’ पुल ४ सय ३५ मिटर लामो र ७.४ मिटर चौडा छ । यो पुल तरेर गुलरियाबाट बारबर्दिया नगरपालिका हुँदै पूर्वपश्चिम राजमार्गको रम्बापुर आउ-जाउ गर्न सकिन्थ्यो । यो पुल पनि भत्किएपछि सदरमुकाम गुलरियाको चारैतर्फबाट यातायात सम्पर्क टुटेको छ । 

गुलरिया पुग्ने सबै मोटरबाटा बन्द
गुलरियाबाट खजुरा हुँदै नेपालगञ्ज जाने बाटो, राजापुर जाने बाटो र भुरिगाउँ जाने बाटो पनि बाढीले भत्किएर यातायातका साधन चल्न सक्ने अवस्था छैन । मोटरसाइकल पनि मुस्किलले चलाउन सकिन्छ । प्रजिअ थापाले अनलाइनखबरसँग भने, ‘सबै बाटाहरु बन्द भएपछि गुलरिया नाकाबन्दीमा परेको जस्तो भा’छ ।’ भत्किएका बाटाहरुमा माटो हालेर मर्मत गर्न आफूले ठेकेदारसँग कुरा गरेको तर जमिन गिलो भएकाले अहिले त्यो पनि सम्भव नभएको जवाफ आएको उनले जानकारी दिए ।

२०७४ साउन ३० गते २०:४४ मा प्रकाशित

फोटो पत्रकारको सम्झनाः कोशीमा ८ वर्षे कमलको शव तैरिँदै गयो…

श्रेष्ठ भन्छन्- तस्वीर खिचेको क्षण मेरा लागि हृदयविदारक


३० साउन, काठमाडौं । सप्तरीको कुलारी गाउँका ८ वर्षे बालकको शव सप्तकोशी नदीमा बगाएको हृदयविदारक तस्वीरले सोमबार धेरैको मन रुवायो । दिनभरि नै सामाजिक सञ्जालमा यो तस्वीरले चर्चा पायो । वास्तवमा यो तस्वीरले बाढीको वास्तविक पीडा बोलेको थियो । युरोपियन फोटो एजेन्सी (ईपीए) का पत्रकार नरेन्द्र श्रेष्ठले यो तस्वीर खिचेका थिए । उनका अनुसार मृतक बालकको नाम कमल सदा हो । र, स्थानीयका अनुसार उनी ८ वर्षका वालक हुन् ।  कमल केही दिनदेखि बिरामी परेका थिए । लगातारको वषर्ापछि आएको बाढीका कारण उनलाई अस्पताल लैजान सक्ने अवस्था थिएन । यहीक्रममा उनको आइतबार निधन भयो । मृतक वालकका बुबा रोजगारीका लागि धरानमा छन् । उनकी आमा सन्तान गुमाएको शोकमा चुर्लुम्म डुबेकी छिन्, बाढीको डुबान त छँदैछ ।

शव बगाउनु नियतिको वाध्यता

कोशी नदी किनारमा रहेको बस्ती बाढीले जलमग्न थियो, वच्चालाई जलाएर सदगति गर्ने त कल्पनै नगरौं, चिहान खन्नका लागिसमेत जमिनको सतह काहीँ थिएन । त्यसैले परिवारका सदस्यले कमलको शव नदीमा बगाउने निर्णय गरे । काठमाडौंका बसेर बहस गर्दा सदगति कसरी हुन्छ भन्न सकिएला । कुन उमेरको मानिस हो र उसको शव जलाइन्छ कि गाडिन्छ भनेर प्रश्न उठाउन सकिएला । तर, गाउँको वास्तविकता सप्तरीमा अलि बेग्लै थियो । तस्वीर सार्वजनिक भएपछि केहीले मृतक कमलको उमेरबारे प्रश्न गरेका छन् । तर, फोटो पत्रकार श्रेष्ठका अनुसार मृतक कमलका काका देवकुमार, जसले शव नदीमा बगाए, उनी र अन्य गाउँलेहरुले उनको उमेर ८ वर्षकै भनेका छन् बाढीको तस्वीर खिच्न सप्तरी पुगेका पत्रकार श्रेष्ठलाई एक स्थानीयले वालकको शव जलाउन वा गाढ्न नपाइएको घटना सुनाए । उनीसहितको टोली कोशी किनारतिर जाँदै गर्दा काका देवकुमार सदा बालकको शव बोकेर आउँदै गरेको अवस्था भेटिए । श्रेष्ठ भन्छन्, ‘बालकको शवलाई गाडेको त थाहा छ तर, नदीमा बगाउने सुन्दा सुरुमा अनौठै लाग्यो ।’ श्रेष्ठले देवकुमारलाई पछ्याए । मृतक बालकका काका देवकुमारले कोशी नदीमा कमलको शव बगाएको दृश्यलाई आफ्नो क्यामेरामा कैद गरे ।

श्रेष्ठ सम्झन्छन्, ‘यो दृश्य मेरा लागि निकै हृदयविदारक थियो । तर, बाढीको असरलाई वयान गर्ने भएकाले मलाई यो दृश्य कैद गर्नुपर्छ भन्ने लाग्यो ।’ श्रेष्ठका अनुसार ब्लाङ्केट लगायतका कपडाले बेहि्रएको कमलको शव नदीमा बगाउँदा डुब्छ होला भन्ने लागेको थियो । तर, शव तैरिएरै परसम्म गरेर गयो । बालकको नाम पनि कमल थियो । अन्ततः उनको शव कमलको फूलजस्तै तैरँदै कोशीको जलयात्रा लीन भयो । उनले त्यो दृश्य सम्झिए- ‘म एकदमै नजिकै थिएँ । लेन्सले तस्वीरलाई झन नजिक ल्यायो । त्यो क्षण निकै हृदयविदारक र मुटुसम्म छुनेखाल थियो’ फोटो पत्रकार श्रेष्ठ भन्छन्, ‘तर, पेशा नै यस्तै हो, मुटु दह्रो बनाएर यो तस्वीर खिचेँ ।’ तस्वीर सार्वजनिक भएपछि केहीले मृतक कमलको उमेरबारे प्रश्न गरेका छन् । तर, फोटो पत्रकार श्रेष्ठका अनुसार मृतक कमलका काका देवकुमार, जसले शव नदीमा बगाए, उनी र अन्य गाउँलेहरुले उनको उमेर ८ वर्षकै भनेका छन् । कतिपयले वालकको तस्वीर मिडियामा प्रकाशित गर्न नहुने तर्क पनि गरेका छन् । तर, पत्रकार श्रेष्ठ बाढीको पीडाको वास्तविकताका लागि यो दृश्य बाहिर ल्याउनु आफूले उपयुक्त ठानेको बताउँछन् ।


Sunday, August 13, 2017

बाढीको असर विद्युतमाः पूर्वी नेपाल अन्धकार, मध्यमाञ्चल पनि प्रभावित

९ साउन काठमाडौं । लगातारको बर्षातका कारण आएको बाढी-पहिरोले गर्दा पूर्वका सबै जिल्लामा विद्युत आपूर्ति ठप्प भएको छ । मध्यमाञ्चलका पनि अधिकांश जिल्लामा विद्युत हुन नसकेको नेपाल विद्युत प्राधिकरणले प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीका कारण झापास्थित दमक-गोधक खण्डको १३२ केभीको लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं. १७ ढलेको छ । हेटौंडा सवस्टेसन अन्तर्गतको हेटौंडा सिमेन्ट नजिक ६६ केभीको टावर पल्टिन लागेकाले औद्योगिक फिडर सर्किट नम्बर १ र २ बन्द गरिएकोे छ । साथै दुहवी सबस्टेसन, दमक सबस्टेसन र अनारमनी सबस्टेसन जलमग्न भएको हुँदा २७ गते बिहानबाट बन्द गरिएको छ । चपुर-पथलैया १३२ के.भी. सर्किट नम्बर २ पनि २७ गते रातिदेखि सञ्चालनमा छैन । बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर-चपुर १३२ केभी सर्किट नम्बर १ पनि २७ गतेदेखि बन्द भएको बताए । बालाजु-त्रिशुली ६६ केभी सर्किट नम्बर १ र २, पनि २७ गते रातिबाट सञ्चालनमा आउन सकेको छैन ।

खपत न्युन भएपछि भारतबाट आयात घट्यो

प्रसारणमा समस्या देखिएपछि विद्युतको खपत पनि तराईमा घटेको छ, जसका कारण भारतबाट ल्याउने विद्युतमा समेत कमि ल्याएको प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरणका अनुसार ढल्केबर-मुजफ्फरपुरबाट लिनुपर्ने १०० मेगावाटमध्ये ७ देखि ३३ मेगावाट मात्र आयात भइरहेको छ । साथै विहार र टनकपुरबाट हुने आयात बन्द गरिएको छ ।

देशका आयोजनाको उत्पादन घट्यो

धेरै सवस्टेशन तथा फिडर बन्द अवस्थामा रहेको हुँदा जलविद्युत गृहको क्षमताभन्दा निकै कम उत्पादन भइरहेको छ । १ सय ४४ मेगावाटको कालीगण्डकी ए बाट एक सय मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट २५ मेगावाट र ६९ मेगावाटको मस्र्याङ्दीबाट ३२ मेगावाट मात्रै बिद्युत उत्पादन भइरहेको छ । बालाजु त्रिशुली ६६ केभी सर्किट टि्रपिङ भएकाले चिलिमेबाट ७, त्रिशुलीबाट र देबिघाटबाट ५ मेगावाट मात्र उत्पादन भइरहेको छ । साथै गन्डक पावरहाउस बाढीको कारणले आइतबार विहानदेखि बन्द रहेको छ ।

यस्तो छ खपतको अवस्था

लहान सवस्टेशनअन्तरगत रुपनिर लोकल फिडरबाहेक सम्पूर्ण ३३ के.भी. तथा ११ के.भी. प्रशारणलाइन बन्द रहेका छन् । जसअन्तर्गत ३६ मेगावाट लोडमध्ये २ मेगावाट मात्रै खपत भैरहेको घिसिङले जानकारी दिए । ढल्केबर सवस्टेशन अन्तर्गतको जनकपुर फिडर बाहेक सम्पूर्ण फिडर बन्द रहेको छ भने ३५ मेगावाट लोडमध्ये १ मेगावाट मात्रै खपत भैरहेको छ । प्राधिकरणका अनुसार गौर नजिक ३३ के.भी. फिडरको २ थान पोल बाढीले बगाएको छ । परवानीपुर सब स्टेशन अन्तर्गत गण्डक र हिमाल फिडरहरुमा पनि समस्या देखिएको छ । जमिनदेखि १ मिटरमाथि पानी आएको हुँदा सिमरा सवस्टेशन २८ गते राति १२ बजेबाट बन्द गरिएको प्राधिकरणले जानकारी दिएको छ । हेटौडा सबस्टेशन अन्तर्गतको लोकल फिडर बाहेक अन्य कुनै पनि फिडर चालु नरहेको कारण १२ मेगावाटमध्ये २ मेगावाट मात्रै खपत भइरहेको छ ।

शिवपुर सवस्टेशन अन्तर्गत ११ के.भी. शिवपुर फिडर र बहादुरगंज फिडर बन्द अवस्थामा रहेको छ । कोहलपुर सवस्टेशन अन्तर्गत राजा फिडर बाहेक सम्पूर्ण बन्द अवस्थामा रहेकाले ४० मेगावटमा २ मेगावाट मात्रै प्रयोग भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

२०७४ साउन ३० गते ३:१० मा प्रकाशित 

रणनीतिक महत्त्वका ५० बढी पुल जोखिममा


३० साउन, काठमाडौं । नियमित मर्मत नहुँदा जोखिममा रहेका रणनीतिक महत्वका ५० भन्दा बढी पुल बाढी तथा डुबानका कारण झनै जोखिममा परेका छन् । महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केवरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा छन् । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार पूर्वको रातु खोलाको पुल र इटहरीको लबी खोलाको पुल भाँचिएर यातायात अवरुद्ध भएको छ । नुवाकोट बट्टारको पुल, बुटवल नारायणगढको नारायणी पुल, बुटवलको तिनाउँ खोलाको पुल उच्च जोखिममा छन् । यातायात नै अवरुद्ध भएकादेखि बाढीपहिरोले थप जोखिममा पारेकासहित यस्ता पुललाई प्रतिस्थापन गरी नयाँ नै बनाउनुपर्ने थापाले जानकारी दिए । महाशाखाका अनुसार अहिलेसम्म नयाँ बनाउनुपर्ने गरी जोखिममा परेका पुलमा बुटवल–नारायगढको नारायणी पुल, बुटवलको तिनाउँ पुल, हेटौंडा–नारायगढ सडकको लोथर पुल, पूर्वमा रातु खोला पुल छन् । पुल भाँचिएका र तत्काल विकल्प खोज्नुपर्ने यस्ता पुलका कारण यातायात अवरुद्ध छन् ।


रातु खोलाभन्दा चार किमि पश्चिममा पर्ने जंघा खोलाको पुलमा पनि बाढीले ल्याएको रूख तथा अन्य अवरोध देखापरेको छ । पथलैयाबाट १४ किमिको धन्सार खोला पुलमा अवरोध आएको छ । पथलैयाबाट पाँच किमिको दूरीमा रहेको दुधौरा खोलामा पनि अवरोध छ । विभागका अनुसार झापाको कन्काई पुल, हेटौंडाको राप्ती खोला पुलमा समस्या देखिँदा राजमार्ग अवरुद्ध छ । दाउन्नेबाट बुटवल खण्डको ४४ किमिमा कल्भर्ट बाढीले थुनिएको छ । दाङको तुल्सीपुरबाट लहमीतर्फको बाटोमा पनि कल्भर्टमा क्षति पुगेको छ । पूर्व–पश्चिम राजमार्गको अगैया खोला पुल पनि अवरुद्ध छ । यही सडक ढाबर खोलाले क्षति पुगेको छ । रौतहटमा पनि एक कल्भर्ट बाढीले बगाएको छ । मोरङमा सडक अवरुद्ध छ । महोत्तरीको गौर जाने बाटोमा पानीको निकास दिन स्थानीयले सडक नै काटेका कारण पनि यातायात अवरुद्ध छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

२०७४ साउन ३० गते ६:५५ मा प्रकाशित

झन् जटिल बन्दै केसी–सरकार सहमति


३० साउन, काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा. गोविन्द केसी अनशन बसेको २१ औं दिन बितिसक्दासमेत सरकारी वार्ताटोली र केसी पक्षबीच सहमति बन्न सकेको छैन । केसीका मुख्य मागमध्ये एक काठमाडौं उपत्यकाका दस वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाइनेलगायत पूरा गर्न संसदीय समिति तथा सरकारी वार्ताटोली सहमत हुन नसक्दा अनशन अन्त्यको पहल निरर्थक बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत प्रमुख माग पूरा गर्न सहमत भए पनि प्रमुख प्रतिपक्षी दलको असहमतिले विधेयक पारित गर्ने र वार्ता टुंगो लगाउने विषय अघि बढ्न सकेको छैन । केसीको विधेयकमा समेटिनै पर्ने भनी अडान राखेका मागमा संसद्को महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति सहमत छैन । सरकारद्वारा वार्ताटोली पनि यही बहानामा निकास खोज्न अग्रसर नदेखिएपछि अनशन अन्त्य झन् अनिश्चित बन्दै गइरहेको आजको नागरिक दैनिकमा खबर छ ।

२०७४ साउन ३० गते ६:४७ मा प्रकाशित

Friday, August 11, 2017

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता, अब सहज रुपमा इन्धन पाइने

 
 
२७ साउन, काठमाडौं । पेट्रोलियम व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । नेपाल आयल निगमले माग सम्बोधन गर्ने आश्वासन दिएपछि व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।
यससँगै अब सहज रुपमा इन्धन बिक्री वितरण थाल्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनले जनाएको छ । निगमले इन्धन ढुवानी गर्दा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । बागमती पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष अच्युत खड्काले आन्दोलनका कार्यक्रम फिर्ता लिएको अनलाइनखबरलाई बताए । निगम सञ्चालक समितिले बिहीबार पेट्रोल र डिजेलको ढुवानीमा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउने निर्णय गरेको थियो । जसमध्ये प्रति चार हजार लिटर पेट्रोलमा साविकमा दिइएको क्षतिपूर्तिलाई १० लिटरले बढाएर ४५ लिटर र डिजेलमा साविकमा दिइँदै आएको यस्तो क्षतिपूर्तिलाई २४ लिटरबाट बढाएर २७ लिटर दिने निर्णय गरेको थियो । प्राविधिक क्षतिपूर्ति बढाउनुपर्ने भन्दै व्यवसायीले बुधबारदेखि आयल निगमबाट पेट्रोल र डिजेल खरिद नै रोकेका थिए ।

 
२०७४ साउन २७ गते १७:५२ मा प्रकाशित

डा. केसीसँग सहमति हुन सकेन, अनसन कायमै

 
 
२७ साउन, काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पास गरेपनि डा. गोविन्द केसीको आमरण अनसन तोड्ने प्रयास असफल भएको छ । डा. केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच भएको कुराकानी सहमतिमा पुग्न सकेन । डा. केसीका प्रतिनिधिले विधेयक माथेमा आयोगको प्रतिवेदन अनुसार नभएको बताएका छन् । साथै विधेयक पास भएपछि कार्यान्वयन हुने सुनिश्चिता खोजेको एक अधिकारीले बताए । 

स्रोतका अनुसार मुख्य विवाद भने सहायक डीन नियुक्तिमा देखिएको छ । आईओएमका डिनले सिफारिस गरेका सहायक डिनहरुको नियुक्ति हुन सकेको छैन । तर, डा. केसीले सबै विषयमा सहमति नभएसम्म अनसन नतोड्ने अडान लिएका छन् । डा. केसीको प्रतिनिधिका रुपमा वार्तामा सहभागी योगेन्द्र सिंहले एक चरण छलफल भएपनि सहमति हुन बाँकी रहेको अनलाइनखबरलाई बताए । उनले भने, हामी विधेयक हेर्दैछौं । त्यसपछि डा. केसीसँग छलफल गर्छौं ।’
 
 
 
२०७४ साउन २७ गते २०:३७ मा प्रकाशित

सिन्धुलीमा पहिरो, एकै परिवारका ४ जनाको मृत्यु

 
 
२८ साउन, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको छ । शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा खड्का, उनकी छोरा अनिज र मनिष र छोरी शोभाको ज्यान गएको सिन्धुलीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक अरुणकुमार सिंले जानकारी दिए । पहिरोमा पुरिएका दुर्गाका श्रीमान उदयबहादुर खड्कालाई भने सशस्त्र प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालयको आवासीय भवन नजिकैबाट झरेको पहिराले घर पुरिएको थियो । 
 
राति २ बजेतिर पहिराले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताए ।सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बस्दै अाइरहेकाे थियो ।

स्याङ्जाको गल्याङमा ट्रक दुर्घटना, दुईको मृत्यु






२७ साउन, काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिका-१ मालुंगामा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते छन् । पोखराबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ५५४६ नम्बरको मालबाहक ट्रक गल्याङ नगरपालिकाको मालुंगास्थित तल्लो बजारीबाट सडकभन्दा २०० मिटर तल खसेको थियो । दुर्घटनामा मृत्यु भएका एक महिला र एक पुरुषको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । तीन घाइतेको पाल्पाको प्रवास मेडिकल कलेजमा उपचार भइरहेको छ ।

२०७४ साउन २७ गते १४:३० मा प्रकाशित

प्रतिघन्टा एक हजार शुल्क लिन्छन् यी पुरुष, महिलाहरुले घरमै बोलाउँछन् के का लागि ?


उनी न त कुनै डाक्टर हुन्, न त कुनै परामर्शदाता । तर उनले प्रति घण्टाको करीब एक हजार रुपैयाँ बराबरको शुल्क लिन्छन् । अनि महिलाहरु उनलाई घरमै बोलाएर उक्त शुल्क तिरेर भरपूर प्राप्त गर्दछन् । आखिर जापानका टाकानोबू निसिमोटोले गर्ने खास कुरा के हो ? जसका लागि महिलाहरुले चर्को शुल्क तिर्दछन् ? तपाइँले अनेक थरी सोँच्नुभयो होला । तर होइन, त्यस्तो । मात्र आफुसँगको चिनापर्ची र भेटघाटका लागि मात्र निसिमोटोले यत्रो रकम अशुल्छन् । उनले अमेरिका र जापानमा समेत अनेक प्रकारका जागिर गरिसकेका छन्, तर अहिले चाहीँ उनी भाडामा उपलब्ध छन् । महिलाहरुले यिनलाई आफ्नो घरमा बोलाउनका लागि प्रतिघण्टा १० डलर अर्थात् झण्डै एक हजार रुपैयाँ बराबरको रकम फी तिर्नुपर्दछ र उनलाई एक घण्टा भाडामा लिन पाइन्छ । निसिमोटोले ओसान नामक पुरुष भाडामा लिने व्यवसाय ४ वर्षदेखि गरिरहेका छन् । उनको समूहमा ६० जनाजति त्यस्ता प्रौढ व्यवसायिक पुरुषहरु छन् जो भाडामा उपलब्ध छन् ।उनीहरुलाई वेबसाइटबाट बुकिङ गर्न सकिन्छ । अनलाइनबाटै रकम भुक्तानी गरिसकेपछि निसिमोटो वा उनका साथीहरु सम्बन्धित ठाउँमा पुग्दछन् ।

आखिर के गर्छन् त त्यहाँ गएर ? वास्तवमा दुनियामा एक्लोपनाबाट गुज्रिरहेका मानिसहरुको कमी छैन । निसिमोटो र उनका साथीहरु तिनै एकलकाटे मानिसहरुको एक्लोपन दूर गर्ने कोसिस गर्दछन् । अक्सर महिलाहरुले निसिमोटोलाई उनीहरुको एक्लोपन भगाउने साथीको रुपमा डाक्छन् । देख्दा साधारण देखिने निसिमोटोमा सुन्ने तथा बुझ्ने बेतोड क्षमता छ । उनी आफ्नो स्वभाव तथा हाउभाउले मानिसहरुलाई प्रभावित गर्न सक्दछन् । उनको कुरा गर्ने शैली निकै नरम छ । निसिमोटोसँग महिलाहरुले आफ्ना पिडा पोख्छन्, गुनासो सुनाउँछन्, रुन्छन्, रिसाउँछन् । निसिमोटोले मज्जाले सुन्छन्, दुखमा साथ दिन्छन् अनि दुखीहरुलाई खुसी बन्ने बाटो देखाउँछन् । निसिमोटोको शर्त छ उनी केबल कुराकानी गर्नका लागि मात्र भाडामा उपलब्ध छन्, अन्य कामका लागि होइन । एकताका एकजना ८० वर्षकी महिलाले पनि निसिमोटोलाई भाडामा लिएकी थिइन् । हरेक हप्ता निसिमोटो ती वृद्धाकोमा जान्थे र पार्कमा घुम्दै कुराकानी गर्दथे ।

एजेन्सी

२०७४ साउन २७ गते ११:२३ मा प्रकाशित