२२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पूर्व प्रतिवद्धता अनुसार १०१ काम नै कार्यान्वयनको चरणमा रहेको दाबी गरेका छन् । चुनावका बेला सय दिनमा १०१ काम गर्ने बाचा गरेपनि काम नभएको भन्दै आलोचना भइरहेका बेला मेयर शाक्यले पत्रकार सम्मेलन गरेर आफूले गरेका कामको फेहरिस्ता प्रस्तुत गरेका छन् । उनले पूर्वप्रतिवद्धताअनुसार सबै काम गर्न नसके पनि कार्यान्वयन चरणमा लगिसकेको दाबी गरे । महानगरपालिकाले सार्वजनिक गरेको प्रतिवेदनमा मेयर शाक्यका १०१ प्रतिवद्धता नै कार्यान्वयन चरणमा रहेको उल्लेख छ । कतिपय काम सम्पन्न भएको र केहीपय नीतिगत रुपमा सम्बोधन गरेर अघि बढेको मेयर शाक्यको दाबी छ । तर, सय दिनमा अपेक्षाअनुरुप काम नसकिएको स्वीकार गरे ।
केन्द्र सरकारले स्थानीय तहकलाई अधिकार दिन आनाकानी गर्दा पनि पर्याप्त काम गर्न नसकेको उनले बताए । ‘स्थानीय तहका लागि केन्द्रबाट आवश्यक कानुनहरु आएका छैनन्’ उनले भने, ‘संविधानले सुरक्षित गरेका एकल अधिकार समेत प्रयोगमा ल्याउन कानुनी जटिलता छ ।’ महानगरको क्षेत्राधिकारभित्र पर्ने ८ मिटरभन्दा साना सडकको मर्मतमा प्रतिशत सडकको मर्मत गरिएको शाक्यले दाबी गरे । उनले भने, ‘त्यसका लागि वडा कार्यालयहरु परिचालन भए । हामीले पर्याप्त स्रोत उपलब्ध गरायौं ।’ धुलो तथा हिलो नियन्त्रण प्रभावकारी हुन नसकेको स्वीकार गर्दै उनले योजना बनाएर अघि बढ्ने बताए ।